२०८१ आश्विन २१ गते, सोमबार ०७:०५
  • भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि छिमेकी मुलुकहरुको साथ आवश्यक: मन्त्री पाण्डे

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको कुरामा जोड दिएका छन्।

    भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सहयोगको अपेक्षा रहेको उल्लेख गरे। ‘यी दुई विमानस्थलहरुको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरु सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ ।’ उनले भने हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ।’

    पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए। नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि प्रति प्रतिवद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धी हासिल गरेको मन्त्री पाण्डेले उल्लेख गरे। ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु।’ उनले भने ‘नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइ सकेको छ।’

    बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ। सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गरेका हुन्। एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ। सम्मेलनमा .करीब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागीता छ।