२०८१ आश्विन २१ गते, सोमबार ०७:०२
  • सैनामैनाको सातविगाह पोखरी, सिमसारमा रमाउन चाहानेको लागि उपयुक्त गन्तव्य


    बुटवल रुपन्देहीको सैनामैनामा सिमसार क्षेत्र छ। सैनामैना नगरपालिका वडा नम्बर ४ लेडुवामा सातविगाह पोखरी पर्यटकीय सम्भावना बोकेको ठाउँ हो।

    पोखरी परिसरमा बुधबार आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहभागी भएका थिए। बृक्षारोपणपछि उनले पोखरीको अवलोकन गरे। अर्यालले यो क्षेत्रको पर्यटकीय सम्भावना रहेको औँल्याए। ‘रुपन्देहीमा खुल्ला स्थान अनि सिमसारको रुपमा व्यवस्थीत यो खालको संरचना भनेको ठूलो सम्पत्ती हो।’ उनले भने ‘पालिका, प्रदेश र संघ सरकार मिलेर यस्लाई व्यवस्थीत गरि प्रकृतिसम्मत संरचना निर्माण गर्न सकिन्छ।’

    सैनामैना नगरपालिकाका मेयर फणिन्द्र शर्माले सातपोखरीको पर्यटकीय विकासको काम सुरु भइसकेको जानकारी दिए। ‘हामीले २ उदेश्यले पोखरीको योजना अघि बढाएका छौं। पहिलो पर्यटन प्रवद्र्धन गर्ने र वातावरण सुधार गर्दै लैजाने। अर्को पोखरीको पानीलाई सदुपयोग गरेर सिचाइमा उपयोग गर्ने उदेश्य छ।’ उनले भने ‘राष्ट्रपति चुरे, बन डिभिजन लगायत सरकारी निकायसँग समन्वय गरेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने योजना छ।’ पोखरीमा पिकनीक सेड निर्माण गर्ने र बोटिङ तथा नौका विहार समेतको योजना बनाएको मेयर शर्माको भनाइ छ।

    सैनामैना नगरपालिका ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले गत आर्थिक वर्षमा १० लाख रुपैया बजेटको प्रबन्ध गरेर पोखरीको चौडाइ मिलाउने काम गरेको जानकारी दिए। ‘हामीले आर्थिक वर्ष २०७९ ८० बाटै बजेट विनियोजन गरेर पोखरीको विकासलाई अघि बढाएका छौं। गत वर्ष १० लाखको बजेटले हामीले लम्बाइ र चौडाइको क्षेत्रफल मिलाउने काम गर्यौं।’ उनले भने ‘यो वर्ष पनि संघ र प्रदेस सरकारबाट बजेट परेको छ। स्थानियबासीलाई आयआर्जनमा जोड्ने गरि हामी यहाँको विकास गर्छौं।’

    सैनामैनाको मुर्गिया चोकबाट २ किलोमिटर दक्षिण पुगी त्यहाँबाट केही पश्चिम लागेपछि सातविघा पोखरीमा पुग्न सकिन्छ।
    मुर्गियबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकमा सातविघा पोखरी रहेको छ। त्यसैले लुम्बिनी आएका पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिन्छ। प्रकृति र सिमसारसँग रमाउन चाहानेहरुको लागि सातविघा पोखरी उपयुक्त गन्तव्य बन्न सक्छ।

    यसबीच संविधान दिवसको पूर्वसन्ध्यामा सातविघाह पोखरी क्षेत्रमा बुधबार बृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले रोपिएका रुखको संरक्षण गर्दै पोखरीको पर्यवरण जोगाउनुपर्ने बताए। डिभिजन वन कार्यालय प्रमुख प्रवीण विडारीले बृक्षारोपणपछि केही वर्षमा पोखरी क्षेत्र थप सुन्दर देखिने विश्वास व्यक्त गरे।

    कार्यक्रममा जनप्रतिनिधी, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, दल तथा संघ संगठनका प्रतिनिधि स्थानिय बासी लगायत ५ सय बढिको सहभागीता थियो। सो अवसरमा विभिन्न प्रजातिका २ सय विरुवाहरु पोखरी वरिपरिका खाली ठाउँमा लगाइएको थियोे ।