२०८१ आश्विन २१ गते, सोमबार ०७:०७
  • कस्तो बन्दै छ प्रकाशनको तयारीमा रहेको लुम्बिनीको ‘टुर गाइड म्यानुअल बुक’ ?

    लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी, अन्य बुद्धस्थल र आसपासका पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार हुँदैछ। गाइड बुकलाई अन्तिम रुप दिन शुक्रबार लुम्बिनीमा कार्यालशाला गोष्टी भएको छ। नेपाल पर्यटन बोर्ड अन्तर्गत जीविकोपार्जन पुनरुत्थानको लागि दिगो पर्यटन परियोजना एसटिएलआरपी र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यशालामा टुर गाइड म्यानुअलको मस्यौदामा समेटिएका विषयवस्तुहरुको प्रस्तुतीकरण गर्दै सुझाब मागिएको थियो।

    टुर गाइड बुकमा बुद्धजन्मस्थल लुम्बिनी सहित बृहत लुम्बिनी क्षेत्रमा रहेका बुद्धस्थलहरुको बारे जानकारी गराइएको छ। पर्यटकहरु लुम्बिनी आउँदा क्रमबद्ध तरिकाले कुन ठाउँ कसरी घुम्न र अवलोकन गर्न सक्छन भन्ने कुरा गाइडबुकमा उल्लेख गर्न खोजिएको छ। त्यस्तै बुद्ध जन्मस्थलमा हुने धार्मिक कार्यक्रम, ध्यान, मेडिटेसन लगायतका गतिविधिबारे पनि टुर गाइडमा राखिने छ। लुम्बिनी आसपासका ग्रामिण क्षेत्रमा भएका गन्तव्य र सांस्कृतिक पक्षहरुको बारेमा पनि गाइड बुकमा चर्चा गर्न खोजिएको छ।

    रामग्राम, देवदह, कपिलबस्तुको तिलौराकोट लगायतका बुद्धस्थल घुम्न प्रेरित गर्ने खालका जानकारी मुलक सामाग्री समेत गाइड बुकमा हेर्न सकिने छ। देशको मुख्य स्थानबाट लुम्बिनीसम्मको दुरी, बुद्धजन्मस्थल तथा बृहत लुम्बिनी क्षेत्र घुम्न चाहानेहरुको घुम्ने अवधि र बसाइको तालिका पनि टुर गाइड म्यानुअलमा समेटिने गोष्टीमा प्रस्तुतीकरण गरेका सौरभ थापाले जानकारी दिए।

    म्यानुअल बुकले टुरगाइडहरुलाई पर्यटकसमक्ष लुम्बिनीको बर्णन गर्न सहज हुने, पर्यटकको बसाइ लम्बाउन सघाउ पुग्ने नेपाल पर्यटन बोर्ड एसटीएलआरपी परियोजना राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन्। “हामीले धेरै ठाउँमा जाँदा फरक फरक गाइडका फरक  फरक सैली पाइयो। त्यसमा एकरुपता आओस्।” उनले भनिन् “लुम्बिनीको बारेमा एउटै वर्णन गर्न सकुन भनेर यो गाइडबुक तयार गर्दैछौं।”

    कार्यशालामा टुर गाइड म्यनुअल मस्यौदाका बारेमा सरोकारवालाहरुले आ आफ्ना सुझाब र सल्लाह व्यक्त गरेका छन्।
    लुम्बिनीको राजकिय बौद्ध विहारका भिक्षु सागर धम्मले गाइड बुक तयार भएमा लुम्बिनी बारे पर्यटकसमक्ष एउटै खालको सन्देश प्रवाह हुने बताए। उनले लुम्बिनीलाई अध्यात्मीकतासँग जोड्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले टुरगाइडमा स्थानियको साँस्कृतीक पक्ष र ठाउँलाई पनि थप्न सुझाब दिइन्। उनले राम्रो गाइड बुक बनेमा पर्यटकको बसाइ लम्बाउन सघाउ पुग्न उल्लेख गरे।

    लुम्बिनी विकास कोषका सुचना अधिकृत डा. हरिध्वज राइले लुम्बिनीमा गुणस्तरिय पर्यटक भित्राउन ध्यान दिनुपर्ने धारणा राखे। युएनडिपी लुम्बिनी प्रदेशका हेड अफ फिल्ड अफिस सुदीप अर्यालले टुर गाइड म्यानुअल पर्यटक भुलाउन प्रभावकारी बन्नुपर्ने बताए। उनले एसटीएलआरपीसँगको सम्झौता अनुसार लुम्बिनीको पर्यटन सुचना केन्द्रको व्यवस्थापन र फोहर व्यवस्थापन पनि छिटो सक्ने लुम्बिनी सांस्कृतिक नगरपालिकालाई आग्रह गरे।

    नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन प्रवद्र्धनमा सरकारी निकाय र सबै पक्ष चिन्तीन हुनुपर्ने बताइन्। होटल संघ लुम्बिनीका अध्यक्ष टुर गाइड बन्नु राम्रो कामको सुरुवात भएको भन्दै पर्यटकलाई सहि सूचना जाने बताए।

    नेपाल पर्यटन बोर्डका एसटीएलआरपी परियोजना प्रबन्धक धर्म दवाडीले आएका सबै सुझाब र विज्ञहरुका थप सल्लाहलाई समेटेर टुर गाइड म्यानुअल बुकलाई अन्तिम रुप दिने जानकारी दिए। कार्यक्रममा लुम्बिनी सांस्कृतीक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने, नगरपालिकाका परियोजना प्रमुख फणीन्द्र पाल, होटल संघ लुम्बिनीका महासचिव पूरुषोत्तम अर्याल, टुर गाइड एशोसिएनका अध्यक्ष रन्जीत हलवाइ लगायतले टुर गाइड म्यानुअल बुकमा समेट्नुपर्ने कुरामा सुझाब राखेका थिए।