२०८१ आश्विन २१ गते, सोमबार ०७:०३
  • रामग्राम-लुम्बिनी-तिलौराकोट स्तरिय बस चलाउँ, पर्यटक अडिएनन् भनेर गुनासो नगरौं

    देवदह-बुटवल-लुम्बिनीलाई सिधा सार्वजनिक यातायातले जोडौं

    सुदीप भण्डारी

    बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटक मध्ये कतिपयले रामग्राम, देवदह र तिलौराकोट बारे थाह नपाएका होलान्। केहीले यी बुद्धस्थलबारे सुनेका त छन् तर महत्व नबुझेका हुन सक्छ। धेरै जनालाई यी ठाउँ बारे राम्रो जानकारी छ सबै बुद्धस्थल घुम्ने इच्छा समेत छ। तर घुम्नको लागि सहज वातावरण छैन। त्यसैले अधिकांस पर्यटक लुम्बिनी मात्र घुमेर फर्किने गर्दछन्।

    सार्वजनिक यातायातमा रामग्राम, देवदह र तिलौराकोट पुग्न निकै सास्ती छ। नवलपरासी पश्चिममा रहेको रामग्राम स्तुपा बुद्धको एक मात्र अस्तीधातु रहेको स्थान हो। लुम्बिनीबाट सार्वजनिक यातायातमा रामग्राम जानुपर्यो भने पहिले भैरहवासम्म बसमा जानुपर्र्छ। त्यहाँबाट झरेर परासी जाने अर्को गाडी चढ्नुपर्दछ। परासीबजारबाट ४ किलोमिटर दुरीमा रहेको रामग्राम स्तुपा जान फेरी गाडी फेर्नुपर्छ या अटोमा जानुपर्दछ। लुम्बिनीबाट बुद्धको माओली देवदह पनि सार्वजनिक बस चढेर सिधै जान सकिँदैन। भैरहवा पुगेर बुटवल जाने अर्को बस चढ्नुपर्छ। बुटवलबाट पुन गाडी फेरेपछि मात्र जान देवदह पुग्न सकिन्छ।

    गौतम बुद्धले २९ वर्ष विताएको स्थान कपिलबस्तुको तिलौराकोट पुग्न पनि लुम्बिनीबाट सिधा सार्वजनिक यातायात छैन। तौलिहवासम्म बसमा गएर ३ किलोमिटरको लागि अर्को गाडी या अटो चढ्नुपर्दछ। लुम्बिनी–भैरहवा, भैरहवा–परासी र लुम्बिनी–तौलिहवा चल्ने लोकल बसको अवस्था त विजोग छ। यी पुराना गाडी कत्ति पनि पर्यटकमैत्री छैनन्।

    लुम्बिनी आएका पर्यटक छोटो समय मात्र विताउँछन्, उतीखेरै फर्किन्छन् भन्ने गुनासो र चिन्ता पर्यटन व्यवसायीहरुबाट सुनिन्छ। बुद्ध जन्मस्थल आएका पर्यटकहरुलाई भुल्ने वातावरण बनाउनुपर्ने माग बेला बेलामा उठीरहन्छ। रामग्राम, देवदह र तिलौराकोट पनि पुग्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने आवाज पनि चर्कै सुनिन्छ। तर पर्यटक भुलाउने र ति बुद्धस्थलहरुमा समेत लैजाने एउटा सानो कुरामा कसैको ध्यान गएको छैन।

    रामग्राम स्तुपाबाट भैरहवा, लुम्बिनी हुँदै कपिलबस्तुको तिलौराकोटसम्म सिधा बस सञ्चालन गर्दा के होला ? पर्यटकहरुलाई बुद्धस्थल घुम्न पक्कै सहज हुनेछ। यो रुटमा पर्यटकमैत्री सुविधायुक्त स्तरिय बस सञ्चालन गर्ने हो भने लुम्बिनीसँगै अन्य बुद्धस्थल घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने निश्चित छ। लुम्बिनी आएका पर्यटकहरु एकदिन तिलौराकोट जान्छन्। अर्को दिन रामग्राम पुग्ने छन्। अथवा कम्तीमा एउटा गन्तव्यमा त पुग्न कोशीस गर्लान। यसबाट लुम्बिनी आएका पर्यटकहरुको बसाइ लम्बिने छ। ति बुद्धस्थलहरुमा केही भएपनि चहलपहल बढ्ने छ। चहलपहल बढ्दा त्यहाँको थप प्रचार प्रसार हुने र पर्यटकीय विकासमा सघाउ पुग्नेछ।

    दशैं नजिकिएसँगै लुम्बिनीको लागि पर्यटनको सिजन पनि सुरु भएको छ। मुलुकका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु लुम्बिनी घुम्न आउने क्रम बढ्ने छ। सुरुमा तिनै आन्तरिक पर्यटकहरुलाई लक्षित गरि लुम्बिनीसहित अन्य बुद्धस्थलहरु घुम्न प्रेरित गर्नुपर्दछ। स्तरिय बस सञ्चालन हुने हो भने घुम्न आएका आन्तरिक पर्यटकहरु पक्कै रामग्राम र तिलौराकोट जान खोज्ने छन्।

    रामग्रामबाट लुम्बिनीहुँदै तिलौराकोटसम्म सिधा सार्वजनिक बस चल्दा पूर्वबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई निकै सहज हुने छ। उनीहरु सुरुमा रामग्राम स्तुपा पुग्नेछन्। स्तुपा घुमेर आरामदायी पर्यटकमैत्री सार्वजनिक बस चढेर बुद्धजन्मस्थल लुम्बिनी प्रस्थान गर्छन्। भोलीपल्ट दिनभर लुम्बिनी घुम्छन्। अर्को दिन तिलौराकोट पुग्छन्। पश्चिमबाट आएका पर्यटक पनि तिलौराकोट लुम्बिनी हुँदै रामग्रामसम्मको यात्रा गर्ने छन्।

    अहिले धेरै आन्तरिक पर्यटक लुम्बिनी आएर उतीखेरै फर्किने गरेका छन्। तीनवटा बुद्धस्थललाई समेटेर सिधा बस चल्दा उनीहरुको लुम्बिनी बसाइ कम्तीमा एक या दुई दिन हुने छ। सार्वजनिक यातायातका माध्यमबाट रामग्राम र तिलौराकोटमा पर्यटक बढ्न थालेपछि यी ठाउँहरुको थप चर्चा हुन्छ। रिजर्ब र निजी गाडीमा आएका पर्यटकहरुको ध्यान पनि रामग्राम र तिलौराकोटले खिच्नेछ। उनीहरु आफ्नै गाडीमा भएपनि सबै बुद्धस्थल घुम्ने छन्।

    कात्र्तिक पछि शैक्षिक भ्रमण तथा संस्थागत भ्रमणका समूह लुम्बिनी आउने गर्दछन्। रिजर्व बसमा आएका उनीहरुलाई पनि अन्य बुद्धस्थलमा जान प्रेरित गर्न सकिन्छ। पछिल्लो समय लुम्बिनी आउने भारतीय पर्यटकहरु बढेका छन्। एउटा राम्रो प्याकेज दिने हो भने उनीहरु लुम्बिनीसँगै अन्य बुद्धस्थल बसमा घुम्ने छन्। ट्याक्सीमा रामग्राम, लुम्बिनी र कपिलबस्तु घुम्दा पर्यटकलाई आठ दस हजार खर्च हुन्छ। त्यसले धेरै जसो लुम्बिनी मात्र घुमेर फर्किन्छन्। तर आरमदायी स्तरिय बसमा एक दुई हजारमै घुम्न पाउँदा तेस्रो मुलुकका पर्यटक पनि धेरैजसो लुम्बिनीबाट अरु बुद्धस्थल पुग्नेछन्।

    यसै गरि देवदह-बुटवल-भैरहवा-लुम्बिनी रुटमा पनि सिधा सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्छ। यसले देवदहको पर्यटकीय विकासमा सघाउ पुग्ने छ। अहिले बुटवलबाट लुम्बिनी पनि सिधा सार्वजनिक यातायात छैन। यो रुटमा सार्वजनिक बस सञ्चालन गर्दा देवदहको चहलपहल बढ्नुका साथै बुटवल र लुम्बिनीलाई सिधा सार्वजनिक यातायातले जोड्ने छ।

    बुद्धजन्मस्थलसँगै तीन जिल्ला समेटिएको बृहत लुम्बिनी क्षेत्रलाई चलायमान गराउने हो भने स्तरिय सार्वजनिक बस सञ्चालन गर्न अब कत्ती पनि ढिलाइ गर्न हुँदैन। बुद्धस्थलहरुमा सञ्चालन गर्ने भनेर लुम्बिनी ल्याइएको विद्युतीय बसहरु साढे ३ वर्षदेखि अलपत्र छन्। यी सेता बस चल्ने नचल्ने कुनै टुंगो छैन। पर्यटनको सिजन सुरु भइसकेकाले अब यी बसलाई पर्खेर मात्र बस्न हुँदैन। सम्बन्धीत स्थानिय तह र यातायात व्यवसायीहरुले पहल गरेर बस सञ्चालन गर्नुपर्छ। पर्यटन क्षेत्रलाई चलायमान गराउन नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले बस व्यवसायी कम्पनी तथा सस्थाहरुले लुम्बिनीबाट रामग्राम, तिलौराकोट र देवदहसम्म स्तरिय बस सञ्चालन गर्न ध्यान दिनुपर्छ।

    धनगढी उपमहानगरपालिका लगायत देशका विभिन्न पालिकाले सार्वजनिक बस सञ्चालन गरेका छन्। हुलाकी सडकमा विद्युतीय बस सञ्चालन गर्न रामग्राम नगरपालिका, लुम्बिनी सांस्कृतीक नगरपालिका र कपिलबस्तु नगरपालिका मिलेर बुद्धपरिपथमा सार्वजनिक यातायात सञ्चलन गर्न सक्छन्। यस्तै आफ्नो ठाउँमा बस सञ्चालन गर्न देवदह नगरपालिकाले पनि पहल गर्नुपर्छ। नीजि कम्पनीले बस चलाएनन् भने पनि यी पालिकाले सुरुमा कम्तीमा एक-एक वटा बस सञ्चालन गर्नुपर्छ। यसले पालिकाकै पर्यटन प्रवद्र्धनमा फाइदा पुग्दछ।

    बुद्धस्थलहरुमा स्तरिय बस सञ्चालन गर्न संघिय सरकार, लुम्बिनी विकास कोष र व्यवसायीक संघसंस्थाहरुले पनि पहल गर्नुपर्छ। अब लुम्बिनी आएका पर्यटक अडिएनन् भनेर गुनासो गरेर मात्र हुँदैन। पर्यटक भुल्ने वातावरण तत्काल सुरु गर्नुपर्छ। लुम्बिनी मात्र नभई बृहत लुम्बिनी क्षेत्रलाई चलायमान गराउने हो भने सुरुमा रामग्राम–लुम्बिनी–तिलौराकोट सिधा स्तरिय बस सञ्चालन गर्नैपर्दछ। त्यसपछि देवदह-बुटवल-लुम्बिनीलाई पनि सिधा सार्वजनिक यातायातले जोड्नुपर्दछ।