२०८१ आश्विन २१ गते, सोमबार ०७:०९
  • भारतीय पर्यटकलाई अनावश्यक दुख नदिन आग्रह

    पर्यटन दिवसमा चार विदेशी पर्यटकलाई बेलहियामा स्वागत

    भैरहवा -स्थलमार्ग हुँदै आउने पर्यटकको लागि सहज वातावरण निर्माण गर्नुपर्ने रुपन्देहीको बेलहियामा आयोजित एक कार्यक्रममा बताइएको छ। विश्व पर्यटन दिवसको अवसरमा पर्यटन डिभिजन कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पर्यटकले दुख पाउने अवस्था सिर्जना गर्न नहुने बताएका थिए।

    कार्यक्रममा लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकार पर्यटनमैत्री वातावरण बनाउने तर्फ ध्यान दिएको बताए। भारतीय पर्यटकहरुले चेकजाँचको बहानामा दुख पाएको गुनासो आफूसमक्ष पनि आएको भन्दै उनले प्रदेश सरकारले त्यो समस्या समाधानमा पहल गर्ने उल्लेख गरे।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो पहलमा बेलहियामा एकिकृत जाँच चौकी बनेको भन्दै पर्यटकको सहजताको लागि अझै धेरै काम हुन बाँकी रहेको बताए। स साना कुराहरुले पर्यटकलाई असहज भइरहेको भन्दै त्यस्ता कुराहरु हटाउन उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए। प्रदेश सांसद सन्तोष पाण्डेले नेपालले बुद्ध जन्मस्थल लुम्बिनीलाई भजाउन नसकेको उल्लेख गरे। अर्का सांसद भोजप्रसाद श्रेष्ठले नेपालमा पर्यटकको पर्याप्त सम्भावना भएको भन्दै त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे।

    पर्यटन डिभिजन कार्यालयकी प्रमुख गीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सीपी श्रेष्ठ, सिद्धार्थ सञ्जालका उपाध्यक्ष सञ्जय बजिमय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रममा बेलहिया हुँदै भित्रीएको ४ जना पर्यटकलाई स्वागत र सम्मान समेत गरिएको थियो। सम्मानित पर्यटकहरुले नेपाल प्रवेश हुँदा पाएको सम्मानले खुशी लागेको सुनाएका थिए।