२०८१ आश्विन २१ गते, सोमबार ०७:१४
  • पर्यटनबाट बुटवलले ठूलो फाइदा लिन सक्छ


    बुटवल -पर्यटनबाट पनि बुटवलले धेरै फाइदा लिन सक्ने सरोकारवालाहरुले बताएका छन्। विश्व पर्यटन दिवसको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले सम्भावना भएर पनि बुटवलले पर्यटकहरुलाई आकर्षित गर्न नसकेको उल्लेख गरेका थिए।

    अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन मामिलाका लेखक युवराज कंडेलले बुटवलमा धार्मिक, एतिहासिक महत्वका ठाउँहरु रहेको बताए । उनले बुटवल र आसपासमा पर्यटकलाई भजाउन सक्ने थुपै कुरा रहेको भन्दै बर्णन मात्र गर्न सक्नुपर्ने उल्लेख गरे। पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गिता आचार्यले पर्यटकीय पूर्वाधारको क्षेत्रमा आफ्नो कार्यालयले काम गरिरहेको सुनाइन्। तर गत आर्थिक वर्षमा बजेट कटौती हुँदा धेरै काम गर्न नपाएको उल्लेख गरिन्।

    होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पर्यटन उद्योगले निकै पछिसम्मका पुस्ताहरुलाई फाइदा दिन सक्ने बताए। उनँले पर्यटकीय पूर्वाधार निर्माणमा राज्यको झन्झटिलो पक्रिया रहेको गुनासो गरे। होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष महेन्द्र श्रेष्ठले पर्यटनबाट बुटवलले ठूलो फाइदन लिन सक्ने धारणा राखे।

    नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन बारे सरकारी पक्षलाई बुझाउन निकै गाह्रो हुने गरेको गुनासो गरिन्। बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले राम्रो वातावरण बनाउन सके बुटवलले धेरै पर्यटक आकिर्षत गर्न सक्ने बताए।
    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन क्षेत्रको लगानी सुरक्षित हुन नसकेको भन्दै कतिपय व्यवसायी पलायन भएको बताए। संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेको स्वागत तथा महासचिव अर्जुन थापाको सञ्चालनमा कार्यक्रममा सहभागीहले पर्यटकीय वातावरण निर्माणको लागि राज्य, निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।