२०८१ आश्विन २१ गते, सोमबार ०५:१४
  • सेप्टेम्बरमा ९६ हजार पर्यटक नेपाल आए, कोभिड अघिको तुलनामा ४ प्रतिसत बढि

    काठमाडौं- गत सेप्टेम्बर महिनामा ९६ हजार ३०५ जना पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.८२ प्रतिसतले पर्यटक बढेको हुन्। सन २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक नेपाल भित्रिएका थिए। यस्तै कोभिड अघिको तुलनामा ४ प्रतिसतले पर्यटक आगमन बढेको हो। कोभिड अघि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल आएका थिए।

    पर्यटक आगमनको अवस्था हेर्दा केही आशालाग्दो देखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता तथा निर्देशक मणिराज लामिछानेले जानकारी दिए। ‘कोभिड अघिको तुलनामा ४ प्रतिसत बढ्दा पर्यटनमा राम्रो सुधार मान्न सकिन्छ।’ उनले भने ‘अमेरिकन र युरोपियनहरु गत वर्ष भन्दा अहिले बढेका छन्।’

    गत महिना सबै भन्दा बढि भारतीय पर्यटक आएका छन्। सेप्टेम्बरमा २२ हजार ९८४ भारतीय आएका छन्। अमेरिककाबाट १० हजार ८४, चिनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३२, श्रीलंकाबाट ४ हजार ९१५, संयुक्त अधिराज्यबाट ४ हजार ४९३, बंगालादेशबाट ४ हजार १०३, जर्मनीबाट २ ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक नेपाल आएका हुन्।

    अघिल्लो वर्ष सेप्टेम्बरको तुलनामा यो वर्ष भारतका पर्यटक १९ प्रतिसतले घटेका छन्। चिनको पनि १.६ प्रतिसतले कमी आएको देखिएको छ। तर श्रीलंका, अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देशबाट पर्यटक आगमन बढेको छ।