२०८१ आश्विन २१ गते, सोमबार ०५:१६
  • भैरहवामा सडक खाना महोत्सवको रमझम, पहिलो दिन अपेक्षाभन्दा धेरै अवलोकनकर्ता

    भैरहवा-भैरहवामा सडक खाना महोत्सव सुरु भएको छ। विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल एशोसिएसनको आयोजनामा सडक खाना महोत्सव तथा म्युजिकल नाइट–२०८१ भएको हो। देवकोटा चोकदेखि हाटबजारसम्म आयोजित खाना महोत्सव शनिवार बेलुका समापन हुने छ। महोत्सवमा रैथाने खानादेखी तारे होटलका खानाका परिकारका स्टलहरु रहेका छन्।

    सडक खाना महोत्सवको पहिलो दिन आशा गरेको भन्दा निकै बढिको सहभागीता भएको सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले जानकारी दिए। ‘हामीले सोँचे भन्दा धेरै दसौं हजार अवलोकन कर्ता आउनुभएको थियो। महोत्सव स्थल खचाखच थियो।’ उनले भने ‘विगतको भन्दा यो खाना महोत्सव हामीले पृथक तरिकाले आयोजना गरेका छौं। स्टलहरु पनि फराकिलो र व्यवस्थित छ।’

    महोत्सवमा राष्ट्रिय कलाकारसँगै भारतीय भोजपुरी कलाकाररुको पनि प्रस्तुती हेर्न पाइने छ। अहिले दुई दिने कार्यक्रम गरेको र आगामी महोत्सव ३ दिनसम्म आयोजना गर्ने श्रेष्ठले बताए। ‘विगतमा एक दिन खाना महोत्सव गथ्र्यौ। अहिले दुई दिन गरेका छौं।’ उनले भने ‘महोत्सवको माहोल देखेर मुख्यमन्त्री मन्त्रीज्युहरुले ३ दिनसम्म महोत्सव सञ्चालन गर्न सल्लाह दिनुभएको छ।’

    खाना महोत्सवको उद्घाटन गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा आउन आकर्षित गर्ने विश्वास व्यक्त गरे। शुक्रबार बेलुका महोत्सवमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता थियो।

    यस अघि विश्व पर्यटन दिवसका दिन असोज ११ र १२ गते खाना महोत्सव गर्ने तयारी थियो। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्य गरी ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो।