२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • लुम्बिनीमा आन्तरिक पर्यटकको खस्कदो अवस्था, फेबुररी र अगष्ट बाहेक सबै महिनामा कमी

    लुम्बिनी गत सेप्टेम्बरमा बुद्ध जन्मस्थल लुम्बिनीमा १४ हजार ६२६ जना आन्तरिक पर्यटक आएका थिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ७ हजारले कम हो। सन् २०२३ को सेप्टेम्वरमा २२ हजार १४५ जना मुलुक भित्रैबाट लुम्बिनी घुम्न आएका थिए। सेप्टेम्बर मात्र होइन अरु महिनाहरुको अवस्था पनि त्यस्तै हो। यो वर्ष फेबुररी र अगष्ट महिना बाहेक सबै महिनामा नेपाल भित्रबाटै लुम्बिनी आउनेहरुको संख्या घट्दो देखिन्छ।

    जनवरी देखी सेप्टेम्बरसम्म ९ महिनाको अवधिलाई आधार मन्दा यो वर्ष लुम्बिनीमा साढे २४ हजारले आन्तरिक पर्यटक घटेका छन्। सन २०२३ को लुम्बिनीमा ४ लाख २० हजार ८८३ नेपाल भित्रैबाट घुम्न आएका थिए। २०२४ को ९ महिनामा ३ लाख ९५ हजार ७९१ जना मात्र लुम्बिनी आएका छन्। लुम्बिनीको अहिलेको पर्यटकको अवस्था कोभिड अघि भन्दा निकै कम हो। सन २०१९ मा सेप्टेम्बरसम्म ९ महिनामा ८ लाख १८ हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए।

    लुम्बिनीमा आन्तरिक पर्यटक घट्नुको मुख्य कारण बुटवल नारायणगढ सडकको दुरावस्था हो। अहिलो नारायणगढबाट बुटवल आउन ५ घण्टा भन्दा बढि लाग्छ। सडक बाहेक अन्य कतिपय कारणले पनि लुम्बिनीमा आन्तरिक पर्यटकको अवस्था खस्किएको छ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पर्यटन विषयका उपप्राध्यापक अरुण सिंहले पछिल्लो लुम्बिनीमा पर्यटकलाई आकर्षित गर्ने नयाँ कार्यक्रम पनि केही नभएको बताए। ‘लुम्बिनीमा धार्मिक यात्राका पर्यटकहरु त आएका छन्। घुमेर मनोरञ्जन लिने खालका पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्ने वातावरण छैन।’ उनले भने ‘मुख्य कुरा लुम्बिनीमा पर्यटकलाई भुलाउने वातवरण तयार गर्नुपर्छ। पर्यटन व्यवसायीहरुले गुणस्तरिय सेवा दिनुका साथै आकर्षक प्याकेज ल्याउनुपर्छ।’ सिंहले लुम्बिनी आसपासमा पनि पर्यटकीय गन्तव्यहरुको पहिचान गरि पर्यटक तान्न सकिने बताए।

    लुम्बिनीमा गत सेप्टेम्बर महिनामा १३ हजार ८१७ भारतीय पर्यटक आएका छन्। भारतबाहेक तेस्रो मुलुकबाट ४ हजार ५१२ पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ।