काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन्। गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभा अन्तर्गत ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्दै उनले सुधारको काम भइरहेको बताए। ‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौं । यही आलोकमा ऐनहरु आउनेछन्,’ उनले भने, ’तपाईहरुले पनि राम्रो कल्चर भित्राउनुुहुनेछ, वातावरण बनाउनुहुनेछ।’
नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति भरिपूर्ण रहेको र नागरिक उड्डयनमा अनन्त सम्भावना रहेको मन्त्री पाण्डेको भनाइ छ । ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ। इयुले असुरक्षित भनेको छ। सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौ भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने। संस्कृतिक, भौतिक र अभौतिक सम्पदालाई पनि उजागर गर्नुपर्ने मन्त्री पाण्डेले जोड दिए। पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले सुनाए। ‘संस्कृति र प्रकृतिको प्रवर्द्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौं। सातवटा प्रदेशमा सातवटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं,’ उनले भने। मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विज्ञ डा. रणबहादुर रावलले पर्यटन प्रवर्द्धनका लागि नीतिगत, संरचनागत सुधारको जरुरी रहेको बताए। ऐन कानुनहरु पर्यटनमेत्री बनाउनुपर्ने उनको भनाइ छ। ‘पर्यटनको महत्त्वपूर्ण पक्ष आर्थिक विकास हो। प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटन, विविधताले महत्त्वपूर्ण देश छ। तर हामीले गम्भीरताका साथ लिएका छैनौ,’ उनले भने, ‘नागरिकको जनजीवन आर्थिक रुपमा बढाउन पनि योगदान हुनसक्छ। पर्यटनको योगदान जिडीपीमा कम देखिए पनि नेपालको अर्थतन्त्रलाई डोर्याउन सक्छ।’ रावलले नागरिक उड्डयन, संस्कृतिसम्बन्धी ऐनहरु संशोधन गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसी पर्यटनको सहर भएको भन्दै प्रवर्द्धन गर्न जरुरी रहेको बताए। ‘नेचर, कल्चर र एड्भेन्चरलाई नीतिगत र योजनाबद्धरुपमा काम गर्नुपर्छ,’ उनले भने। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न १८ महिना लागेको भन्दै उनले पर्यटकीय राजधानीमा आउन एनआरएनहरुलाई अनुरोध गरे।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले जैविक विविधता, धार्मिक, सांस्कृतिक विविधताले भरिएको, सिमसार क्षेत्र, नदी क्षेत्र, चराहरुको बासस्थान रहेको भरतपुरलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न पर्यटन भ्रमण वर्ष २०२४ मनाइरहेको जानकारी दिए। ‘लामो इतिहास बोकेको भरतपुरको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन एनआरएनएहरुको भूमिका हुनसक्छ,’ उनले भने, ‘भरतपुर, लुम्बिनी, पोखरालाई ट्रयांगलको रुपमा विकास गर्न सकियो भने आयआर्जन र समृद्धिका टेवा पुग्नेछ ।’ डिसेम्बरमा पर्यटन महोत्सव आयोजना गरेको भन्दै सहभागी हुन उनले निमन्त्रणा समेत गरे।
रामग्राम नगरपालिका प्रमुख धनपत यादवले छिमेकी राष्ट्रहरुबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन जरुरी रहेको बताए। कोभिडपछि लुम्बिनी क्षेत्रको पर्यटक धाराशायी भएको र व्यवसायी पलायन भइरहेको भन्दै उनले बुद्धिष्ट पर्यटक भित्र्याउन एनआरनएनले पहल गरिदिनुपर्ने उल्लेख गरे। एनआरएनए र लुम्बिनी क्षेत्रका चारवटा नगरपालिकाले सम्झौता गरेर पर्यटन भित्र्याउन पहल गरिरहेको मेयर यादवको भनाइ छ। बुद्धको अस्तु भएको ठाउँमा बस्ने ठाउँ नभएको, संरक्षण गर्न नसकिएको उनको गुनासो छ। आएका पर्यटकको सुरक्षाको चुनौती पनि रहेको उनले सुनाए । ‘बाटो राम्रो छैन। धुलाम्य हुनुपरेको छ। अनि कसरी पर्यटक आउँछ । यसमा संघ सरकार गम्भीर हुनुपर्छ,’ उनले भने। लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले पर्यटनमा लगानीको वातावरण सिर्जना भएमा गैरआवासीय नेपाली आकर्षित हुने बताए। ’लगानीको भरपर्दो सुरक्षा, प्रतिफलको सुनिश्चितता गर्नुपर्छ । नीतिगत निरन्तरता र नीतिगत सुधारको आवश्यकता छ,’ उनले भने । मेयर यादव र लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले लुम्बिनीको स्मारिका पर्यटन मन्त्री र एनआरएनएलाई हस्तान्तरण गरेका थिए।
होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले एनआरएनएसँग आफूहरुको अपेक्षा प्रवर्द्धन र ब्राण्डिङ भएको बताए। आउने पर्यटन नीतिमा गैरआवासीय नेपालीका विषय पनि समेटिनुपर्ने र यसले पर्यटन प्रवर्द्धनमा सघाउने उनको भनाइ छ।
एनआरएनएका उपमहासचिव सोमनाथ सापकोटाले नेपालको सम्पदा, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि पुलको भूमिका खेल्ने बताए। पर्यटन प्रवद्र्धन एनआरएनएको प्राथमिकतामा रहेको भन्दै चुनौतीहरुमा महत्वपूर्ण रणनीति अगाडि बढाउन र नेपाललाई पर्यटन गन्तव्य बनाउन यो छलफलले सघाउने उनको भनाइ छ। एनआरएनएको नेपाल गुड्सका अध्यक्ष टिका गुरुङले नेपालमा उत्पादन भएका सामग्री विभिन्न माध्यमबाट विश्वभर प्रवर्द्धन गरिरहेको बताइन्।
एनआरएनएको कल्चर एण्ड हेरिटेज समिति संयोजक एवं आईसीसी उपमहासचिव प्रविन गुरुङले प्रवासमा रहेका नेपालीको सोच नै नेपालमा पर्यटक कसरी भित्र्याउने, लगानी भित्र्याउने भन्ने हुने गरेको बताउँदै विभिन्न फोरममार्फत संस्कृति प्रवर्द्धन गरिरहेको बताए। सत्रको अध्यक्षता गरिरहेका एनआरएनएको नेपाल पर्यटन विभागका उपाध्यक्ष रविन शेरचनले पर्यटन क्षेत्रका चुनौती समाधान गर्न छलफलले टेवा पुग्ने उल्लेख गरे। नेपालको प्रकृतिको स्मार्ट प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको भन्दै एनआरएनएले विश्वव्यापी नेटवर्क प्रयोग गरेर प्रवर्द्धन गर्ने बताए।
सत्रमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षकी भारती लिम्बुनीलाई मन्त्री पाण्डेले दोसल्ला ओडाएर सम्मान गरेका थिए। सत्रको सञ्चालन एनआरएनए आईसीसी सचिव भीम केसीले गरेका थिए।