भैरहवा -यही कात्तिक १८ गतेबाट थाइ एयर एशियाले भैरहवाबाट उडान सुरु गरेको छ। थाइल्याण्डको बैंकक नजिकको डन मुएङ अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई दिन उडान हुने तालिका छ। जस अनुसार २३ गते शुक्रबार विहान भैरहवाबाट अर्को उडान हुने छ। भैरहवा बैंककको एकतर्फी भाडादर १३ हजार ९९९ र दुई तर्फी भाडादर २१ हजार ९९९ तोकिएको छ।
थाइल्याण्डबाट भैरहवा उडान सुरु भएर भाडादर तोकिए पनि थाइ एयर एशियाको टिकट बुकिङ सिष्टममा भैरहवा सेक्टर भने भेटिदैन। एयर एशियाको वेवसाइटमा सर्च गर्दा काठमाडौं बैंककको उडानको विवरण थाह पाउन सकिन्छ । तर भैरहवा बैंकक सिधा उडानको विवरण देखिँदैन।
भैरहवाबाट उडानको तयारी गर्न लागेको जजिरा एयरवेज र फ्लाइ दुवईको तालिका र सिष्टममा भैरहवा सेक्टर देखिन्छ। तर तर यी दुई एयरलाइन्स जस्तो थाइ एयर एशियाको बुकिङ गर्न ट्राभल कम्पनीहरुलाई सहज छैन। भैरहवा सेक्टर नदेखाउँदा कुन दिनको कति भाडा लिने थाह हुँदैन। टिकट बुक गर्न पनि एयरलाइन्सलाई नै सम्पर्क गर्नुपर्ने अवस्था छ। थाइ एयर एशियाले भने बुकिङ सिष्टममा भैरहवा पनि छिट्टै देखिने ट्राभल कम्पनीलाई बताउने गरेको छ।