२०८१ मंसिर ९ गते, आईतवार ०७:५८
  • ‘भैरहवामा अवतरण गर्दा साह्रै खुसी छौं, अब निरन्तर विमानस्थल चलोस्’

    यस्तो छ जजिराका यात्रुको अनुभव

    भैरहवा-भैरहवाबाट जजिरा एयरवेजले पुन उडान सुरु गरेको छ। श्निवार विहान ७ : ४५ बजे जजिराको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा आएकालाई स्वागत गर्न पुगेका आफन्तहरुको विमानस्थलमा चहलपहल थियो।

    जजिराको जहाजमा आएका यात्रुहरुले भैरहवामा अवतरण गर्न पाउँदा निकै खुशि भएको सुनाएका थिए। रुपन्देही तिलोत्तमा ११ भुपु सैनिकका झमबहादुर पुनले भैरहवा झर्नको लागि जजिराकै उडान पर्खिरहेको बताए। ‘कहिले काठमाडौं कहिले दिल्ली हुँदै आउन परेको थियो। अहिले भैरहवा झर्न पायौं। अब नियमितता होस।’ उनले भने ‘नेपाल आउन जजिराकै उडान पर्खिरहेको थिएं आउन पाइयो।’ भैरहवा आउने जजिराको विमानमा सबै सिटमा यात्रुभएकोे पुनको भनाइ छ।

    गुल्मी कि गीता सुनुवार दुबइबाट कुवेत हुँदै भैरहवा आएकी हुन्। ‘जाँदा काठमाडौंबाट जानुपरेको थियो। आउँदा भैरहवा नै झर्न पाइयो।’ उनले भनिन् ‘घर आउँदा नजिकै झर्न पाउँदा निकै खुशि र रमाइलो लागेको छ। काठमाडौं भन्दा भैरहवाको भाडा पनि सस्तो भएको गीताले सुनाइन्।’

    कुवेतबाट आएका बुटवल बेलबासका सन्तोष बहादुर क्षेत्रीले दोस्रो पटक भैरहवा झर्न पाउँदा खुशी भएको सुनाए। ‘काठमाडौं भन्दा यहाँ झरेर घर जान धेरै सजिलो भयो।’ सन्तोषलाई स्वागत गर्न उहाँकी श्रीमती लक्ष्मी विमानस्थल पुगेकी थिइन्। ‘काठमाडौं भए हामीलाई लिन जान पनि असहज हुन्थ्यो। यहाँ नजिकै लिन आउन पाइयो।’ उनले भनिन्।

    रुपन्देही देवदहका सिजन रानाले भैरहवा झर्न भनेर पहिलो टिकट लिएको सुनाए। ‘१०–१५ वर्ष जति भयो म दुबईमा बस्न थालेको। जहिले पनि काठमाडौं हुँदै आउन परेको थियो। जजिरामा आज आउन भनेर नै उत्सहित भएर हामीले पहिलो टिकट लिएका हौं।’ उनले भने

    शनिवार जजिरा एयरवेजको जहाजबाट १७१ जना कुवेतबाट आइ भैरहवा अवतरण गरेका छन्। भैरहवाबाट १६८ यात्रु कुवेत प्रस्थान गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले जानकारी दिए।