२०८१ मंसिर ६ गते, बिहीबार २३:२७
  • भैरहवाको अन्तर्राष्ट्रिय उडानमा भिजिविलिटीको चुनौति, समाधान होला त?

    महाप्रबन्धक तिवारी भन्छन् : आरएनपी एआर विधि लागु गर्ने तयारी छ

    भैरहवा- भैरहवाबाट चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालिसकेका छन्। कतार एयरवेजले पनि मंगलबार भैरहवा आउँदैछ। उद्घाटनको साढे २ वर्षसम्म अन्तर्राष्ट्रिय उडानले नियमितता पाउन नसकेको गौतमबुद्ध विमानस्थलमा अब भने चहलपहल बढ्न थालेको छ। यसबाट रुपन्देहीको पर्यटन र व्यवसाय क्षेत्रमा आशा र उत्साह छाएको छ। तर हुस्सु र कुहिरो लाग्दा भिजिविलिटी नियमित उडानमा चुनौति बनेको छ।

    मंगलबार कुवेतबाट उडेको जजिरा एयरवेजको जहाज कम भिजिविलिटीका कारण काठमाडौं डाइभर्ट भयो। जाडो महिनामा सुरु भएको छ। पुस माघमा बाक्लो हुस्सु लागेर भिजिविलिटी नपुग्दा कतै लामो समय अन्तर्राष्ट्रिय उडान प्रभावित हुने त होइन भन्ने आशंका पनि छ। त्यसो भएमा भैरहवामा उडानले थपेको उत्साह हराउने हो कि भन्ने चिन्ता छ।

    जहाजलाई उडान गर्न १८ सय मिटर भिजिविलिटी चाइन्छ। जाडो महिनामा हुस्सु लाग्दा भिजिविलिटी कम हुन्छ। हजार भन्दा पनि कम भिजिविलिटीमा पनि उडान गर्न आइएलएस इन्स्टुमेन्ट ल्याण्डीङ सिष्टम विमानस्थलमा जडान छ। एयर स्पेसको इस्युको कारणले भारतीय पक्षले नमान्दा त्यो सञ्चालन हुन सकेको छैन।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने भिजिविलिटीको समस्या समाधानको लागि आइएलएसको विकल्पमा आरएनपी एआर विधि लागु गर्ने तयारी भएको बताए। ‘हामीले स्याटालाइटमा आधारित ल्याण्डिङको लागि आरएनपी एआर विधि हामीले बनाइरहेका छौं।’ उनले भने ‘यही नोभेम्बरमा यसको टेस्ट फ्लाइट पनि हुन्छ। टेष्ट फ्लाइटपछि एयरलाइन्सहरुले त्यसको अपु्रभल लिएर सात आठ सय मिटर भिजिविलीटीमा ल्याण्ड गर्न सक्नेछन्। त्यसो भयो भने उडानमा भिजिविलिटीको समस्या नपर्न सक्छ।’