२०८१ मंसिर ९ गते, आईतवार ०९:०६
  • अक्टोवरमा लुम्बिनीको आन्तरिक पर्यटक, उहिले १ लाख बढि, अहिले २९ हजार

    बुटवल-नारायणगढ सडकको दुरावस्थाले पर्यटन आगमनमा ठूलो असर

    लुम्बिनी-अक्टोवर बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल हुने महिना हो। सन २०१९ को अक्टोवरमा १ लाख ४ हजार २२५ जना मुलुक भित्रबाटै लुम्बिनी घुम्न आएका थिए। तर यो वर्षको अक्टोवरमा जम्मा २९ हजार ५२८ मात्र आन्तरिक पर्यटक आए। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ११ हजारले कम हो।

    २०२३ को अक्टोवरमा ४० हजार ८२३ नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए। २०२२ मा ६५ हजार ७५४ जना र कोभिडको प्रभावित वर्ष २०२१ म ५३ हजार ८७० जनाले लुम्बिनी घुमेका थिए। २०२० मा कोरोनाका कारण लकडाउन थियो। २०१९ अघिका अक्टोवरमा पनि एक लाखको आसपासमा आन्तरिक पर्यटक आएको तथ्यांक देखिन्छ ।

    मुख्य गरि बुटवल-नारायणगढ सडक खण्डको दुरावस्थाका कारण लुम्बिनीमा पर्यटक आगमन स्वात्तै घटेको देखिन्छ। होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले सिजनको बेला पनि बुद्ध जन्मस्थलमा खासै चहलपहल नदेखिएको बताए। ‘उहिले यो बेला होटल भरिभराउ हुन्थ्यो। अचेल त पर्यटकका कुरा गर्न पनि दिक्क लाग्दो अवस्था छ।’ उनले भने ‘बाटोघाटो अस्तव्यस्त हुँदा सिजनको बेला पनि सुनसान छ।’

    राजमार्गमा भएको ढिलाइ प्रति पर्यटन व्यवसायीको विरोध खासै सुनिएको छैन। होटल संघ लुम्बिनीका अध्यक्ष ज्ञवालीले सडक छिटो सक्न दबाब दिन आवश्यक भएको बताए। उनले छलफल गरेर छिट्टै यसबारे केही निर्णय गर्ने जानकारी दिए।