२०८१ मंसिर ६ गते, बिहीबार २३:२१
  • विदेशी पर्यटक तथा बौद्धमार्गीलाई लुम्बिनी ल्याउन आकर्षक प्याकेज बनाउँछौं (अन्तर्वार्ता)

    अन्तर्राष्ट्रिय उडानको निरन्तरता हाम्रो प्राथमिकता

    भैरहवा-नेपाल एशोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाटटा लुम्बिनीको हालै सम्पन्न १२ साधारण सभा तथा अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्व सामु अवसर सँगै चुनौति दुबै छ। हालै मात्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। अन्तर्राष्ट्रिय उडानको निरन्तरता र पर्यटन प्रवद्र्धनमा अबको नेतृत्वले खेल्न सक्ने भूमिका र ट्राभल व्यवसायीहरुको गुनासा तथा एजेन्डाका सम्बन्धमा हामीले नाट्टा लुम्बिनीका नवनिर्वाचित अध्यक्ष चन्द्र थापासँग कुराकानी गरेका छौं।

    हालै मात्र यहाँ नाट्टा लुम्बिनीको अध्यक्षमा निर्वाचित हुनुभएको छ। अब कसरी अघि बढ्नुहुन्छ ?
    मेरो अबको कार्यकाल अवसर र चुनौतिले भरिएको छ। भरखर मात्र भैरहवाबाट उडान सुरु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबाट केही आशा जागेको छ। अन्तर्राष्ट्रिय उडान दिर्घकालसम्म होला की नहोला भन्ने आशंका पनि छ। कतै काठमाडौंको विमानस्थलको मर्मत सम्भारको उपजको रुपमा चलेको होकी भन्ने पनि धेरैलाई लागेको छ। यो उडानको दिर्घकालसम्म स्थायित्व होस भन्नेमा म नेतृत्वको कार्यसमिति केन्द्रीत हुने छ।

    अन्तराष्ट्रिय उडानको एकखालको सुरुवात भएको छ। विमानस्थल दिर्घकालिन रुपमा निरन्तर सञ्चालनको लागि कसरी पहल गर्नुहुन्छ ?
    गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल यस क्षेत्रको लागि आर्थिक विकासको महत्वपूर्ण आधार हो। उडानको गन्तव्य विन्दु यहीबाट सुरु हुन्छ भन्ने बनाउन सकियो भने विमानस्थल चलायमान हुन सक्छ। यसलाई स्थायीत्व दिन अहिले आइरहेका अन्तर्राष्ट्रिय उडानहरुलाई लोड पुग्ने गरि हामीले सहयोग गर्नुपर्छ। यहाँका गन्तव्यहरुको प्रवद्र्धन गरेर पर्यटकहरुलाई यहाँ ल्याउन सकियो भने विमानस्थल चल्ने वातावरण बन्छ। विदेश जानेहरुलाई यही विमानस्थल प्रयोग गराउन सकेमा भैरहवाको अन्तराष्ट्रिय उडानले स्थायीत्व पाउन सक्छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिर्घकालसम्म चल्न सक्छ। त्यस कुरालाई हामीले महत्वका साथ लिएका छौं।

    लामो प्रतिक्षापछि गौताम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन थालेको छ। उडानको निरन्तरतामा चुनौति के छन्?
    विश्वकै उत्कृष्ठ एयरलाईन्स कतार एयरवेज यहाँ अवतरण गरिरहेको छ। यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विश्वव्यापी रुपमा प्रचार प्रसार हुने छ। विश्वका कुनै पनि ठूला एयरलाइन्स भैरहवा आउन सक्छन् भन्ने एक खालको सन्देश पनि गएको छ। अरु विमान पनि आएका छन्। तर केही महिना भन्दा बढि नचल्ने हो की भन्ने जनताको आशंका छ। कम भिजिविलिटीमा उडान हुन सक्ने आइएलएस प्रविधी अझै प्रयोगमा आउन सकेको छैन। यसको लागि नेपाल सरकारले भारत सरकारसँग छलफल गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन पहल गर्नुपछ। आइएलएसको विकल्पमा आरएनपी एआरको कुरा आएको छ। त्यो हो भने छिटो जडान हुनुपर्यो। भिजिविलीटीका कारण उडान रोकिने अवस्था आउन दिन हुँदैन। समयमै पहल थाल्नुपर्छ। अन्तर्राष्ट्रिय उडानहरुको प्रवेश विन्दुको समस्या पनि हल हुनुपर्छ। पश्चिम तर्फको प्रवेश विन्दु खोल्न पनि सरकारले पहल गर्नुपर्छ।
    नेपालबाट विदेश जाने हुन अथवा बाहिरबाट नेपाल आउनेहरुको लागि भैरहवालाई नै गन्तव्य विन्दु बनाउन सक्नुपर्छ। अन्तर्राष्ट्रिय उडानको निरन्तरताको लागि भैरहबाबाट देशका अन्य शहरसम्म उडान र सडक सञ्जालको सहज पहुँच हुनुपर्छ। कम्तीमा पश्चिमको मान्छे भैरहवा आउँदा दुई तिन ठाउँमा गाडी परिवर्तन गर्न नपरोस्। यसको लागि निजी क्षेत्रले पनि सहज आवगमनको वातावरण सिर्जना गर्नुपर्छ।
    यस्तै भारतीयहरुले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरुन भन्ने तर्फ ध्यान दिनुपर्छ। त्यसको लागि बेलहियामा आवागमनको व्यवस्था सहज गर्नुपर्छ। घण्टौंसम्म कुराएर पर्यटकलाई प्रवेश गराउँदा यसले राम्रो सन्देश जाँदैन। त्यसैले अध्यागमनमा कर्मचारी थपेर भएपनि भारतीय पर्यटकहरुलाई छिटो प्रवेशको व्यवस्था गर्नुपर्छ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भइसकेपछि यहाँको पर्यटकीय आगमनको सम्भावना कस्तो देख्नुभएको छ?
    बुद्ध जन्मस्थल लुम्बिनी पर्यटक आगमनको प्रमुख आधार हो। अन्तर्राष्ट्रिय उडान भएपछि अब सहज रुपमा पर्यटक आउन सक्ने वातावरण निर्माण भएको छ। थाइल्याण्डबाट सिधा उडान समेत भएको छ। यसले थाइल्याण्ड हुँदै नेपाल आउन पर्यटकहरु बढ्नेछन्।

    लुम्बिनी लगायत अन्य पर्यटकीय गन्तव्यको लागि नाट्टा लुम्बिनी कसरी अघि बढ्छ ?
    सरकारले पहिचान गरेका गन्तव्यहरुको हामीले प्रवद्र्धन गछौं। ती क्षेत्रमा सहज रुपमा भ्रमण गर्न सकिने गरि नाट्टाले प्याकेजको व्यवस्था गर्ने छ। यहाँका धेरै पर्यटन व्यवसायीहरु पर्यटन क्षेत्रमा लागेर आफ्ना विज्ञता हासिल गरेका छन्। आफनो क्षमता बजार अनुसार प्याकेज विक्री गरिहेका छन्। नाट्टाले पनि अब अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्नुपर्छ। थाइल्याण्ड बर्मासम्म पुगेर हामीले लुम्बिनी सहितको गन्तव्यलाई प्रचार प्रसार गर्नेछौं। विदेशी बौद्धमार्गी पर्यटकलाई नेपालमा ल्याउने राम्रो प्याकेज दिनेछौं। मेरो कार्यकालमा यसलाई मुख्य प्राथमिकतामा राखेको छु।

    पर्यटकीय सेवा दिने होटल व्यवसायी, यातायात व्यवसायी, एयरलाईन्सहरु लगायत संघसंस्थासँग नाट्टको समन्वय र सहकार्य कसरी अघि बढ्छ ?
    यस क्षेत्रमा पर्यटनसँग सम्बन्धीत धेरै संघ संस्था क्रियाशिल छन्। ति संस्थासँग स्वभाविक रुपमा भाइचाराको सम्बन्ध रहन्छ। अब हामी एकै ठाउँमा बसेर पर्यटन सम्बन्धी साझा अवधारणा बनाउन पहल गर्नेछौं। एयरपोर्टको दिर्घकालिन सञ्चालन, पर्यटकीय वातावरण निर्माणको लागि हामीले सबै सरोकारवाला संघ संस्थासँग सहकार्य गर्ने छौं।

    ट्राभल व्यवसायीहरुको समस्या के छ । राज्यले कसरी सम्बोधन गर्नुपर्छ ?
    सरकारको पर्यटनसँग सम्बन्धी नीति स्पष्ट छैनन्। पर्यटन व्यवसायीहरुलाई दिइएका सुविधा पनि कटौती गरिएका छन्। ट्राभल व्यवसायीहरुलाई धेरै प्रकारको कर लगाइएको छट। कर पनि चर्को छ। नियम नमान्नेहरुले अबैध व्यवसायीहरु पनि छन्। अनुगमन पनि फितलो छ। बजार अनुगमनलाई पनि प्राथमिकताका दिनुपर्छ। पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्छ। हरियो प्लेटका सवारीलाई पर्यटकको सुविधाको लागि हो। त्यसैले अरु निजी सवारी जस्तो कर लगाउन हुन्न। ट्राभल व्यवसायीहरुलाई लगाइएको दोहोरो तेहोरो करहटाउनुपर्छ।

    यहाँको कार्यकालमा नाट्टा लुम्बिनीका पर्यटकीय गतिविधिहरु के के हुने छन्। कार्यकाल सकिँदासम्म यस क्षेत्रको पर्यटकीय अवस्था कस्तो हुनेछ ?
    भैरहवाबाट उडान सुरु भएपछि पर्यटन क्षेत्रमा एउटा आधार बनेको छ। हामीले यसलाई अझै उचाइमा पुर्याउनुछ। यसको लागि ठोस कार्ययोजना बनाएर सबैको विश्वासको साथ अघि बढ्छौं। हाम्रो कार्यकालको अवधिसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायीकरणमा नाट्टाले महत्वपूर्ण भूमिका निर्वाह गर्यो भन्ने बनाउन सकियो भने ठूलो उपलब्धी हुने छ। पर्यटन क्षेत्रको एउटा सुन्दर सम्भाव्यता तयार गर्नेछौं।