तिलोत्तमा-रुपन्देहीको मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव सुरु भएको छ। तिलोत्तमा चेम्बर अफ कमर्शको आयोजनामा विहिवारदेखी सुरु व्यापार महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ। महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले अहिले लगानीमैत्री वातावरण रहेको दावी गर्दै प्रदेश सरकारले उद्योग र व्यवसायमा गरिएको लगानीको सुरक्षा गर्ने बताए।
प्रदेशमा उद्योग तथा व्यापारको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न उनले आग्रह गरे। पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुलाई सुझाव दिए।
तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरको रुपमा परिचित हुनु गौरवको बिषय भएको उनको भनाइ छ। तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उद्योग तथा व्यवसायमा मन्दी छाइरहेका बेला आयोजना गरिएको व्यापार महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउन सहयोग पुग्ने बताए। महोत्सवमा कृषि, उद्योग, हस्तकला, गार्मेन्ट, खाद्यान्न, स्थानीय विभन्न उत्पादन लगायतका तीन सय स्टल रहेका छन्।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, तिलोत्तमा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष जेपी कँडेल, तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी लगायतले आ आफ्ना भनाइ राखेका थिए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक तिलोत्तमा चेम्बर अफ कमर्सले जनाएको छ।