भैरहवा – लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा बुद्धस्थल घुम्नको लागि टुर प्याकेज घोषणा गरिएको छ। सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदैछ। महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरि टुर प्याकेज घोषणा गरिएको संघले जनाएको छ।
यो टुर प्याकेजमा भ्रमण गर्न चाहानेहरुले बुद्धजन्मस्थल लुम्बिनीसँगै देवदह, रामग्राम तिलौराकोट लगायतका बुद्धस्थलको अवलोकन गर्न पाउने छन्। महोत्सवको अवसरमा लुम्बिनीसँगै पुरातात्विक तथा बुद्धस्थलको प्रवद्र्धनको लागि आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि प्याकेज कार्यक्रम ल्याएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए। ‘ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा यो टुर प्याकेज ल्याएका हौं।’ उनले भने ‘यसले लुम्बिनीसँगै अरु बुद्धस्थलको प्रचार र प्रवद्र्धन हुने महोत्सवमा आउने दर्शकलाई उत्साह मिल्ने हामीले विश्वास गरेका छौं।’भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरि टुर प्याकेज ल्याइएको र सामान्य अवस्थामा भन्दा प्याकेजमा ३०–४० प्रतिशतसम्म सस्तो श्रेष्ठको भनाइ छ।
महोत्सवमा टिकट काटेका आधारमा प्याकेजमा घुम्न छुटको व्यवस्था हुने छ। रुपन्देहीको बेलहिया मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो। यहाँबाट मुलुक प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई मेलास्थलसम्म ल्याएर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको छ।
महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव मंगल भण्डारीले भारतीय र तेस्रो मुलुकका पर्यटकले बुद्धस्थलसँग सम्बन्धित स्थलहरु बढीमात्रामा घुम्न खोज्ने भएकाले टूर प्याकेज धेरै विक्री हुने आशा गरिएको उल्लेख गरे।
महोत्सव र टुर प्याकेजबारे नजिकका भारतीय बजारहरुमा समेत प्रचारप्रसार गरिएको उनले जानकारी दिए। यसका साथै भारतीय विभिन्न एजेन्सी र व्यापारीहरुमार्फत् विभिन्न सहरहरुमा महोत्सव र टूर प्याकेजबारे प्रचार प्रसार गरिएको छ। लुम्बिनी राष्ट्रिय महोत्सवमा मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन रहने छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती हुने छ।