२०८१ पुष ३ गते, बुधबार १०:२९
  • धार्मिक गतिविधिले लुम्बिनीमा एक्कासी बढ्यो चहलपहल

    नोभेम्बरमा मात्र सवा २ लाख पर्यटक

    लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा अहिले चहलपहल ह्वात्तै बढेको छ। गत नोभेम्बरमा मात्र सवा २ लाख पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। जस अनुसार १ लाख ६९ हजार ५७५ जना आन्तरिक पर्यटक रहेका छन्। ३२ हजार ४३८ भारतीय र १८ हजार ५३९ तेस्रो मुलुकका पर्यटकले बुद्धजन्मस्थलको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। डिसेम्बर महिनामा पनि लुम्बिनीमा भिडभाड छ।

    विशेष गरि अहिले भिक्षु र बुद्ध अनुयायीहरुको भिड देख्न सकिन्छ। नोभेम्बरमा हजार बुद्ध मन्दिर पूजा र अहिले चलिरहेको शाक्य मोन्लम पुजाको कारण चहलहपल बढेको छ। लुम्बिनीमा धार्मिक गतिविधि भएमा यहाँको पर्यटकीय र आर्थिक गतिविधि बढ्ने देखिएको लुम्बिनी होटल संघका उपाध्यक्ष लिलामणी शर्माले बताए। ‘लुम्बिनीमा अरु पनि यस्तै धार्मिक गतिविधिहरु भइरहनुपर्छ । यस्तो भयो भने लुम्बिनीको महत्व पनि बढ्छ। पर्यटकीय चहलपहल पनि हुन्छ।’ उनले भने ‘हालै भएको दुई वटा पूजाले भिक्षुहरुको चहलहपल बढेको छ।’ नोभेम्बर र डिसेम्बरको अहिलेसम्मा लुम्बिनीमा होटलको अक्कुपेन्सी पनि राम्रो रहेको शर्माले बताए।

    मोन्लम पुजा महायानी सम्प्रदायको ठूलो पूजा हो। १३ दिनसम्म लगातार चल्ने पूजामा ४० भन्दा बढि देशका भिक्षु र बुद्ध अनुयायीहरु सहभागी भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए। ‘पुजाले महायान समूदायलाई लुम्बिनीसँग नजिकबाट जोडेको हामीलाई अनुभूती भएको छ।’ उनले भने ‘यो महामोन्लममा नियमित रुपमा दैनिक ३ हजार बढि पुजामा सहभागी हुनुहुन्छ । त्यसबाहेक अरु दर्शनार्थीहरु पनि आइहरनुहुन्छ।’ यस्ता पूजा धेरै पूजा गर्न सकेमा लुम्बिनी र अन्य बुद्धस्थलको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्यानउने कोषाध्यक्ष भट्टराइको भनाइ छ।