२०८१ चैत्र २५ गते, सोमबार ११:५७
  • पर्यटन नीति निर्माणका लागि मन्त्री पाण्डेले गरे गगन थापा र शंकर पोखरेलसँग छलफल

    काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीतिको नयाँ मस्यौदाका सम्बन्धमा एमाले महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग छलफल गरेका छन्। मौजुुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुन निर्माणका लागि उनले दलका नेताहरुसँग छलफल गरेका हुन्।

    बुधबार भएको छलफलका क्रममा मन्त्री पाण्डेले शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न नसकेको उल्लेख गरे। ‘पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन्। नीतिगत रूपमा कहाँ त्रुटी छन् त्यसको पहिचान गरि राजनीतिक दलको सक्रिय सहभागीता र सुझावमा आधारमा अन्तिम रूप दिने काम भईरहेको छ।’ उनले भने ।

    पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यानदिनु पर्नेमा जोड दिए। ‘सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ। नेपालको भविष्य पर्यटन क्षेत्रमा छ। यो हाम्रो लागि अवसर पनि हो।’ उनले भने ‘जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ।’ पोखरलले पर्यटकीय दृष्टिकोणले पूर्वभन्दा पश्चिमी क्षेत्र अझै सम्भावना रहेको उल्लेख गरे।

    कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताउनु बताए। नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ। ‘पुराना कानुको पूनरावलोकन हुनैपर्छ। नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालय सँग समेत छलफल हुन जरुरी छ।’ उनले भने ‘पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी नीजि क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ।’ महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे,खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा समेत जोड दिए।

    पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थि, मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा. नारायण रेग्मी, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले, सहभागीता जनाएका थिए।