२०८१ चैत्र २६ गते, मंगलवार ०५:१२
  • भैरहवाको लागि तीन एयरलाइन्सले अझै खोलेनन् अप्रिलको टिकट, उडानले पाउला त निरन्तरता ?

    भैरहवा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले उडान गरिरहेका छन्। यी तीन वटा एयरलाइन्सको मार्च महिनाभर उडान तालिका छ। समर सेड्युल अर्थात अप्रिल पछिको उडान हुने या नहुने भन्ने कुरा अझै सार्वजनिक रुपमा टुंगो लागेको छैन। सिधा उडान मार्फत भैरहवा आउन अर्थात यहाँबाट प्रस्थान गर्न टिकट उपलब्ध हुँदैन।

    कुवेत-भैरहवा उडान गरिरहेको जजिरा एयरवेजको लागि मार्च २९ सम्मको लागि मात्र टिकट पाउन सकिन्छ। त्यस पछि उसको सिष्टममा भैरहवाको लागि टिकटदर देखाएको छैन। दुबई-भैरहवा काठमाडौं उडान गरिरहेको फ्लाई दुबइको पनि बुकिङ सिष्टममा मार्च २९ सम्मको मात्र टिकट उपलब्ध छ। प्रत्येक सोमबार बंकक-भैरहवा उडान गरिरहेको थाइ एयर एशियाले मार्च २४ सम्मको लागि मात्र टिकट दर सार्वजनिक गरेको छ।

    भैरहवाबाट जान आउन टिकटको माग भएपनि अप्रिलको टिकट आँफूहरुले उपलब्ध गराउन नसकेको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले जानकारी दिए। ‘अहिले थाइ एयर एशियामा यात्रुको चाप नै छ।। जजिराको पनि राम्रै यात्रु छ। भैरहवाको लागि टिकटको माग भइरहेको छ।’ उनले भने मार्चपछिको टिकट हामीले उपलब्ध गराउन सकेका छैनौं। भैरहवाको टिकट नपाउँदा काठमाडौंको विमानस्थल प्रयोग गर्दछन्।’ जतिसक्दो छिटो उडानको अनुमति लिएर टिकट खोल्न थापाले एयरलाइन्सहरुसँग आग्रह गरे।

    यस्तै काठमााडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत्र १९ गतेबाट रातीको समयमा पनि सञ्चालन हुने भएको छ। काठमाडौंको विमानस्थल रातीमा बन्द नहुने भएपछि भैरहवाबाट उडानले निरन्तरता नपाउने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ।

    कुवेतको जजिरा एयरवेजले भैरहवामा उडान गर्दा राम्रो यात्रु पाएको छ। भैरहवाबाट यात्रु राम्रो रहेको र मौसमको मात्र समस्या भएको जजिराका एक कर्मचारीले सुनाए। ‘मौसमको अवस्था मात्र हो। हामीलाई अरु कुनै समस्या छैन। उडान प्राय डिले भइरहेको छ।’ उनले भने ‘हाम्रो सम्बन्धित निकायसँग कुरा भइरहेको छ। उडान हुने नहुने के कसरी हुने भन्ने कुरा दुई तिन दिन भित्र टुंगो लाग्छ।’ फ्लाई दुबई र थाइ एयर एशियाको नेपाल स्थित कार्यालयमा सम्पर्क गर्दा उडान हुने या नहुने बारे मुख्य कार्यालयबाट कुनै आधिकारीक जानकारी नआएको बताए।

    नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले समर सेड्युलमा भैरहवाबाट उडानको लागि एयरलाईन्सहरुले आवेदनको प्रक्रिया अगाडि बढाएको बताए। ‘समर सेड्युलको लागि आवेदनको प्रक्रिया अघि बढेको छ। निर्णय भइसकेको छैन’ उनले भने ‘अहिले उडान गरिरहेका एयरलाईन्सले समर सेड्युलमा पनि उडान निरन्तर गर्छन भन्ने हामीलाई विश्वास छ।’ २०७९ साल जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। उद्घाटन भएको साढे २ वर्षपछि २०८० कात्र्तिकबाट मात्र भैरहवामा अन्तर्राष्ट्रिय उडानले केही गति लिएको थियो।