२०८१ चैत्र २० गते, बुधबार १०:१७
  • फेरि सुनसान हुँदैछ गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष

    अप्रिलबाट छैन भैरहवामा अन्तर्राष्ट्रिय उडानको तालिका

    भैरहवा-चार वटा विदेशी कम्पनीका जहाज आउन थालेपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत कात्तिकमा गुल्जार देखिन थालेको थियो। जजिरा एयरवेज, फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजको जहाज भैरहवामा अवतरण गरेका थिए।

    २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। सुरुवातमा केही महिना उडान गरेको जजिरा एयरवेजले उडानलाई निरन्तरता दिएको दिएन। लामो समय अन्तर्राष्ट्रिय उडान भएन। रुपन्देहीका उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन गरेका थिए। उनीहरु अन्तर्राष्ट्रिय उडानको माग गर्दै काठमाडौँसम्म पुगे। सरकारले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न सहुलियतको घोषणा गर्यो। उद्घाटन भएको साढे २ बर्षपछि बल्ल विमानस्थलको चहलपहल बढ्न थालेको थियो।

    जस कारण कात्र्तिकबाट भैरहवामा ४ विदेशी कम्पनीका जहाजले उडान गरेका थिए। जजिराले हप्तामा ३ पटक कुवेत-भैरहवा-कुवेत उडान गर्यो। थाइ एयर एशियाले सातामा एक दिन बैंकक-भैरहवा-बैकक उडान भर्यो। फलाई दुबई प्रत्येक दिन दुबई- भैरहवा-काठमाडौं र कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं उडान थाले। उडानले गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय कक्षमा चहलपहल बढेको थियो। नेपाल एयरलाइन्सले पनि काठमाडौं-भैरहवा-दुबई रुटमा उडान गर्यो। विदेशबाट आउने र प्रस्थान गर्नेहरुको भैरहवा विमानस्थलमा लस्कर देखिन्थ्यो। उनीहरुको स्वागत र विदाइमा पुग्ने आफन्तको भिड लाग्थ्यो। सवारी साधनको लहरै पार्किङ देखिन्थ्यो।

    पुसमा जाडो मौसमका कारण केही समय अन्तर्राष्ट्रिय उडान रोकिए। कतार एयरवेजले उडानलाई निरन्तरता दिएन। जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले पुन उडान सुरु गरे। जजिराको जहाजमा लगभग पुरा सिटमा यात्रुहरु हुन्थे। थाइ एयर एशियाको जहाज मार्फत भैरहवाबाट बैंकक जानेहरुको पनि प्राय डेढसय जनाको आसपासमा हुन्थे। ट्रान्जिट उडान गरिरहेको फ्लाई दुबईमा पनि यात्रुको संख्या बढ्दै थियो। तर ३ वटै जहाजले भैरहवाबाट उडान निरन्तर गर्न चाहेनन्। उनीहरुको उडान तालिका यही मार्च महिनासम्म मात्र छ।

    अप्रिल १ पछि अब गौतम बुद्ध विमानस्थलमा त्यो चहलपहल देखिने छैन। अहिले उडान गरिरहेका जहाजले समर सेड्युल अर्थात अप्रिल देखी अक्टोवससम्म उडान गर्न नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएका छैनन्। त्यसैले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष फेरी सुनसान हुँदैछ।

    नागरिक उड्यन प्राधिकरणले मंगलबार समर सेड्युलमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेहरुको तालिका सार्वजनिक गरेको छ। तालिकामा भैरहवाको लागि अहिले उडान गरिरहेका जजिरा, फ्लाई दुबई र थाइ एयर एशियाको उडान छैन। नेपाल बायुसेवा निगमको काठमाडौं- क्वालालाम्पुर-भैरहवा-काठमाडौंको उडान मात्र कायम छ। तालिका भएपनि निगमको जहाज मलेशियाबाट भैरहवा नआएको लामो समय भएको छ। त्यसैले यो उडान हुने सम्भावना पनि खासै छैन। तीन वटा अन्तर्राष्ट्रिय उडानले भैरहवामा एक खालको चहलपहल ल्याउँदा रुपन्देहीमा उत्साह छाएको थियो। अब अप्रिलपछि अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायीहरु फेरी चिन्तित हुन थालेका छन्।