२०८१ चैत्र २० गते, बुधबार १०:१७
  • पोखराको प्राकृतिक दृष्यसहितको भिडियो हेरेर चिनियाँहरु मोहित भए

    हाम्रो भ्रमणले पोखरामा अन्तर्राष्ट्रिय उडानको निरन्तरता हुने र चिनिया पर्यटक बढ्ने आशा गरेका छौं

    कमला गिरी
    पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय भइसकेको छ। तर यहाँका नागरिकले व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय उडान भएको देख्न पाएका थिएनन्। विमानस्थल बनेर अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरामा निराशा छाएको थियो।

    यही बेलामा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको पहलमा चिनिया राजदुतावास सहित विभिन्न निकायमा पहल गरेर नियमित अन्तर्राष्ट्रिय उडानको प्रयास गरिएको हो। यसको लागि सुरुमा हामी व्यवसायीहरुले आफ्नो रकम खर्च गरेर पहिलो व्यवसायीक चार्टर उडान मार्फत चिन भ्रमण गरेका हौं। चैत्र ५ गते विहान सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। त्यसमा पोखरा घुम्ने चिनिया पर्यटकहरु आउनुभएको थियो। हामी व्यवसायीहरु भने चिनको सिचुवान प्रान्तको भ्रमणको लागि सोही विमान तर्फ प्रस्थान गर्यौै।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामीछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी सहित हामी १२६ जना जहाजमा थियौं। हामी चढेको सिचुवान एयरलाइन्सको जहाज पोखराबाट चिनका लागि उडान गर्यो। पोखराबाट पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडानमा हामी यात्रा गरिरहेका थियौं। हामी चढेको विमान सोही दिन दिउसो चिनको सिचुवान प्रान्तको छेन्दुमा अवतरण भयो। त्यहाँका स्थानिय सरकार, व्यवसायीहरु, एयरलाइन्सका प्रतिनिधि र विभिन्न व्यक्तीत्वहरुले विमानस्थलमै आएर हामी सबैलाई स्वागत गर्नुभयो। विमानस्थलबाट हाम्रो टोली ३ वटा बसमा बाँडिएर बस्यौं। आरामदायी बसमा छेन्दुका विभिन्न दृष्य नियाल्दै २ घण्टाको बस यात्रापछि हामी होटलमा पुग्यौं।

    दोस्रो दिन छेन्दुमा बीटुबी सेल्स मिसन कार्यक्रम थियो। कार्यक्रममा त्यहाँका स्थानिय सरकारका प्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिती थियो। पोखराबाट गएका पर्यटन व्यवसायीहरुले आफ्ना ब्रोसर लिएर जानुभएको थियो। पोखराको पर्यटन प्रवद्र्धनका ब्रोसरहरु उहाँहरुले वितरण गर्नुभएको थियों। कतिपय महिला दिदीबहिनीहरुले आफ्नो टेबलमा नेपालमा बनेका हस्तकलाका सामान पनि राख्नुभएको थियो। हाम्रो सस्था टेवानले पनि हस्तकलाका सामान राखेका थियौं। हामीले चिनियाहरुलाई पोखरा प्राकृतिक रुपमा एकदम सुन्दर ठाउँ छ घुम्न आउनुहोस भनेर हामीले निमन्त्रणा गयौं। उहाँहरुले पनि पोखराप्रति निकै चासो राख्नुभएको थियो। त्यहाँ आउनुभएका स्थानियले हामीसँग पोखराबारे उत्साहित भएर कुरा गर्नुभएको थियो।

    कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले छेन्दुको स्थानिय सरकारसँग सहकार्य गरेर आगामी दिनमा हामीले भगिनी सम्बन्धको कायम गर्न सक्छौं भन्ने कुरा राख्नुभयो। उहाँले पोखराको पर्यटन बारे जानकारी गराउनुभएको थियोे। कार्यक्रमबाट हामी कार्यक्रमले पोखराको पर्यटनमा नयाँ आशा थपिएको हामीले महसुस गर्यौंं।

    तेस्रो दिन हामी त्यहाँका पर्यटकीय गन्तव्य घुम्यौं। छेन्दुमा पनि एउटा मन्दिर नै मन्दिर भएको पुरानो बजार रहेछ। एउटा सानो समुद्र जस्तो ताल जस्तो देखीने मनमोहक ठाउँ रहेछ। त्यहाँ भित्तामा कुँदेर बुद्धको आकृती बनाइएको रहेछ। त्यहाँ हेरेर नअघाउने खालको दृष्य थियो। अझै धेरै नयाँ संरचनाहरु बन्ने क्रम पनि रहेछ। विकास र समृद्धिको नमुना नै देख्न पाइयो। हामीलाई नेपालबाट प्याकेज बनाएर पर्यटक पठाउन सजिलो होला भनेर हामीलाई त्यहाँका विभिन्न गन्तव्यहरु घुमाइएको थियो। भ्रमणका क्रममा हामीले पनि पोखराको बारेमा प्रचार प्रसार गरेका थियौं। विभिन्न ठाउँमा पर्यटन प्रवद्र्धनको लागि पनि हामी भ्रमण गरेका थियौं।

    चौथो दिन हामीले छेन्दु नजिकै छोन्जिङमा अर्को कार्यक्रम भएको थियो। हामीले पनि सेल्स मिसनको कार्यक्रम गरेका थियौं। चिनिया टुर गाइड र पर्यटन व्यवसायीहरुको कार्यक्रममा उत्साहजनक सहभागीता थियो। नेपाल र चिन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा चिन सरकारले २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ, पोखरा महानगरपालिकाले पनि २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ। त्यसले गर्दा कार्यक्रमले हामीलाई राम्रो उत्साह दियो। एक दिन हामीलाई घुम्न नभई त्यहाँ किनमेलको लागि सपिङ मलमा लगिएको थियो।

    हामी त्यहाँका जतिपनि ठाउँमा जाँदा पोखरा प्राकृतिक रुपमा सुन्दर र सहासिक गतिविधिका लागि महत्वपूर्ण छ भनेर आफ्ना भिजिटीङ कार्ड र ब्रोसर प्रदान गथ्र्यौ। विभिन्न ठाउँमा भएका कार्यक्रममा हामीले पोखराको बारेमा प्रचार प्रसार र प्रवद्र्धन गर्ने मौका मिल्यो।

    नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धको लागि भिडियो क्लीप्सहरु प्रस्तुत गरेको थियो। भिडियोमा पोखराका पर्यटकीय गतिविधि र गण्डकी प्रदेशमा रहेका पर्यटकीय गन्तव्य समेटिएको थियो। हिमाल, ताल, तलैया, नदि छहरा सहितको भिडियो देखेर चिनियाहरु मोहित भएका थिए। प्राकृतिक दृष्यसहित यहाँको भाषासंस्कृती मौलिक नाचगान सहितको भिडियो हेर्दा उहाँहरुको प्रतिक्रिया आँखाले नै बताइरहेको थियो। एकदम चासो दिएर हेर्नुभएको थियो।

    भिडियो हेरेपछि उहाँहरुले ‘पोखरामा यस्तो राम्रो ठाउँहरु रहेछ। हामीलाई त भोली नै जाउँ जाउँ जस्तो लाग्यो’ भन्नुभएको थियो। बच्चाहरुको विदाको समयमा बच्चा सहित उनीहरुका परिवारलाई घुम्न पठाउन यहाँको स्थानिय सरकारले पनि पहल गर्छ भन्ने खालको कुरा भएको थियो।

    एक हप्ते भ्रमणको क्रममा छेन्दु लुझाउ लगायतका शहरमा एकदम धेरै विकास भएको देख्यौं। त्यहाँ हेर्दा एउटा घर अर्थात अपार्टमेन्ट जस्तो छ। तर त्यो अपार्टमेन्ट भित्र रेल हिडिरहेको छ। बुलेट ट्रेनमा पनि विजनेश क्लासका सिटहरु थियो। हामीले थोरै पैसा तिरेपनि धेरै सेवाहरु पाउने खालको सुविधा थियो। पैसा खर्च गरेपनि मनखत नलाग्ने। विकासको हिसाबमा चिन निकै अग्रस्थानमा गएको महसुस गयो। मेरो यो दोस्रो चिन भ्रमण थियो। यस अघि गोन्झाउ, संघाइ गएको थिए। छेन्दु पनि एकदम धेरै विकास भएको देख्न पाइयो। ग्रिनरी पनि एकदम धेरै भएको। छेन्दुको नजिकै कृषि योग्य जमिन थुप्रै रहेछ ।किसान काम पनि धेरै व्यवस्थीत भएको पायौ। विकासमा छिटो फड्को मारेको देख्यौं।

    पोखराबाट चिनको छेन्दुमा भएको उडानले दुई देशको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छौं। आपसी व्यवसायीक सम्बध पनि एकदम राम्रो बन्दा देशलाई फाइदा हुने देखीन्छ । हाम्रो भ्रमण र पोखराबाट भएको उडानले हामीसँग भेट हुनुभएका स्थानियहरु उत्साहित भएको पायौं। पहिलो व्यवसायीक चार्टर उडानमा हामी गएका थियौं। ३ वटा उडान त निश्चित नै छ । त्यसबाहेका अरु उडान हुने सम्भावना पनि छ। चिन एशिया महादेशको केन्द्र बीन्दु पनि हो। उडान निरन्तर भएकमा जापान लगायत अरु थुप्रै देशबाट पर्यटकहरु चिन हुँदै पोखरा आउने छन्। यसले पोखरासँग गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको चहलपहल बढ्ने छ।

    अर्बौ ऋण र लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र सञ्चालन नहुँदा सबै भन्दा बढि राज्य चिन्तीत हुनुपर्ने हो। राज्यले नै कुटनीतिक पहल गरेर पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने दायित्व लिनपर्ने हो। तर यो या त्यो बहानामा अन्तर्राष्ट्रिय उडान भइरहेको थिएन। हामी निजी व्यवसायी स्थानिय सरकार र प्रदेश सरकार मिलेर एक पटक पहल गरौं भनेर उडान सुरु गरेको हो। चार्टर उडान मात्र भएर हुँदन नियमित उडान हुन आवश्यक छ। त्यसको लागि राज्यले कुटनीतिक पहल गरोस्।

    दैनिक नियमित उडान हुन नसकेपछि कम्तीमा साताको एउटा पोखरादेखी चिन उडान हुन एकदम जरुरी छ । यो उडानले देशको अर्थतन्त्रलाई पनि ठूलो टेवा पुग्न सक्छ। पर्यटन व्यवसायी सँगै यहाँका अन्य व्यवसाइहरुलाई पनि यो उडानले फाइदा हुन्छ सबैले लाभ लिन सक्छन्। पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि अहिले हामी व्यवसायीहरु आफ्नो व्यक्तीगत खर्चमा चिन भ्रमण गएर आएका छौं। सरकारले थप पहल गर्यो भने पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन त्यती समस्या हुँदैन। सबैको प्रयास र पहलबाट आगामी दिनमा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने हामीलाई आशा छ।