अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ?

बुटवल -भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएपछि निजी क्षेत्रले सरकारलाई प्रश्न गरेका छन्। प्रदेश स्तरिय ४ व्यवसायीक संस्था नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी, लुम्बिनी प्रदेश उद्योग परिसंघ लुम्बिनी र नेपाल घरेलु तथा साना उद्योग महासंघका लुम्बिनीले सरकारलाई प्रश्न गर्दै तत्काल अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन माग गरेका छन्। उनीहरुले सोधेका प्रश्नहरु यी हुन्।
१) निजी क्षेत्रले पटक पटक ध्यानाकर्षण गराउँदा पनि अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित आवश्यक कार्यालयहरुको स्थापना हुन नसक्नुको कारण के हो ?
२) कुन अदृष्य शक्तीले यस क्षेत्रको समृद्धिको आधारको रुपमा स्थापना भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ?
३) त्यस्ता अवरोधलाई छिचोल्नको लागि नीजि क्षेत्रका तर्फबाट सरकारलाई के कस्तो सहयोगको आवश्यकता पर्ने हो?
४) केही अन्तर्राष्ट्रिय वायुसेवाले नियमित यात्रु पाउँदा पाउँदै पनि उडान कटौती गरेको विषय सुन्नमा आएको छ। यसको कारण के हो ?
विज्ञप्ती मार्फत नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम र नेपाल घरेल तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेशप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तीमा भैरहवाबाट उडान रोकिँदा उद्योगी व्यवसायी सहित आम नागरिकमा निराशा छाएको उल्लेख छ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै सरकारकै आह्वानमा यस क्षेत्रका उद्योगी व्यवसायीले अर्बौ लगानी गरेर प्रतिफलको अपेक्षा गरेर बसिरहेका छन् । तर विभिन्न बहानामा पटक पटक निराशा बनाउने काम भएको व्यवसायीहरुको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन, उडान कटौती गरेका वायुसेवा कम्पनीलाई पुन फर्काउने वातावरण बनाउन, यात्रुको सुविधाको लागि आकर्षक प्याकेज सहितको सेवा सुविधाको व्यवस्था मिलाउन र रुपन्देहीमा श्रम लगायतका कार्यालयको स्थापना गर्न विज्ञप्तीमा माग गरिएको छ।