पाणिनी ध्यान, ज्ञान र देवभूमि : प्रधानमन्त्री

बुटवल अर्घाखाँचीमा पाणिनी तपोभूमि सम्मेलन सुरु भएको छ। पाणिनि गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद् लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन विहिवारसम्म चल्नेछ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनी ध्यान, ज्ञान र देवभूमिको रुपमा रहेको बताए। उनले पाणिनीको भूमिबाटै विश्वव्यापी रुपमा ज्ञानको सुरुवात भएको भन्दै उनले यसलाई विश्वभर चिनाउनुपर्ने धारणा व्यक्त गरे।
पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै ओलीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता विकासमा समेत प्रयोग भैरहेको बताए। नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको उल्लेख गर्दै धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गर्न जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे।
पाणिनी संस्कृत व्याकरणको रचना गरेको स्थलको रुपमा देशभर प्रचलित छ। पाकिस्तानको लाहोरबाट सयौं वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ। सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए। पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ।
ऐतिहासिक एवं प्राचिन स्थल रहेपनि प्रचारप्रसार हुन नसकेको भन्दै प्रदेश सरकार र दुईवटा पालिकाले पाणिनी सम्मेलन आयोजना गरेका हुन्। दुईदिन सम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।