२०८१ चैत्र ३१ गते, आईतवार ०२:५७
  • ७ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाणिनी तपोभूमि सम्मेलन

    पणिनि-अर्घाखाँचीमा भएको पणिनि तपोभूमि सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल पाणिनि तपोभूमिमा चैत्र २७ र २८ गते दुई दिने पाणिनि तपोभूमि सम्मेलन भएको थियो।
    सम्मेलनबाट जारी भएको ७ वूँदे घोषणापत्र यस्तो छ।

    १) पाणिनि व्याकरण र संस्कृत भाषा प्रवद्र्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने।

    २) राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि सस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने।

    ३) पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सृजनाको स्थल भएकोले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्न सक्ने गरी अनुसन्धान र सृजनाको लागि पूर्वाधारको व्यवस्था गरिने ।

    ४) पाणिनि तपोभूमिको वरपर दुर्वासा मुनिको आश्रम छ । महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र छ । प्रख्यात् काली गण्डकी नदीको संगम छ । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल छ। नर्तनाचलमै ऐतिहासिक सुपा देउराली मन्दिर र दक्षिणी भागमा रामले वाणंले हानेर पहरो फोरेर पानी निकालेको बांणगंगा नदी छ । यिनै पृष्ठभूमिमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक साँस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने ।


    ५) महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने।

    ६) पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने भएकोले विभिन्न सरोकावाला निकाय र विज्ञहरुसँगको परामर्शबाट सम्पदा मैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि वढाउने।

    ७) पाणिनि क्षेत्रको विकासका लागि यस जिल्ला र क्षेत्रका वासिन्दालगायत सवै सरकारी गैरसरकारी संघसस्थाहरुबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछौं।