२०८२ बैशाख ३ गते, बुधबार १२:५१
  • हवाई नीति परिवर्तन गरि भैरहवाबाट पुनः अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्छ

    बुटवल– हवाई नीति परिवर्तन गरि भैरहवाबाट पुन अन्तर्राष्ट्रिय उडानको वतावरण बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा लुम्बिनीले बुटवलमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले पर्यटन र उड्यन सम्बन्धी निती समयसापेक्ष र प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
    कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले सरकारले हवाइ नीति परिवर्तन गर्नु आवश्यक रहेको बताए। ‘हवाइ निती संसोधन गर्नुपर्छ । संसोधित हवाइ नीतिलाई आगामी बजेट तथा नीति कार्यक्रममा समेट्नुपर्छ ।’ उनले भने ‘हवाइ नीतिमा भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्नुपर्छ । बुद्धिष्ट मुलुक, श्रम गन्तव्यका देशमा उडान हुने न्यारोबडी जहाजलाई भैरहवामा वेस गराउनुपर्छ ।’ अध्यक्ष थापाले डिजिटल माध्म मार्फत विभिन्न संस्थाले अनधिकृत रुपमा हवाइ टिकट विक्रि गर्ने गरेको भन्दै त्यसलाई रोक्ने पर्ने उल्लेख गरे ।
    कार्यक्रममा पर्यटन डिभिजन कार्यालय भैरहवाका प्रमुख नेत्र प्रसाद भुसालले आफ्नो कार्यालयबाट पर्यटन प्रशासन सम्बन्धी काममा सहज ढंगले सेवा दिने प्रतिबद्धता व्यक्त गरे । पर्यटन व्यवसायीका कतिपय समस्या सुनवाइको लागि नियमाली संसोधनको तर्जुमा गरिएको उनले जानकारी दिए । ‘नियमावली संसोधनको तर्जुमा गरेर मन्त्रालयबाट पठाएको हो । आर्थिक मामिलामा गएको छ । त्यहाँबाट अनुमती नभएकाले अगाडी बढ्न सकेको छैन ।’ उनले भने ‘तपाई पर्यटन व्यवसायीहरुले पनि मुख्यमन्त्रीलाई भेटेरै नियमावली छिटो संसोधनको लागि पहल गर्नुभयो भने राम्रो हुन्छ ।’
    भुसालले व्यवसायहरु समयमा नविकरण गर्न र नविकरण नभएका ट्राभल व्यवसायलाई बन्द गर्ने तरिकाले अघि बढ्ने जानकारी दिए ।
    नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले अनधिकृत तरिकाले हुने हवाइ टिकट विक्रि रोक्नुपर्ने बताए । उनले अन्य मुलुकको तुलनामा नेपालमा हवाइ भाडा महंगो हुने गरेको गुनासो गरे । अधिकारीले भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित हुन्छ भने ट्राभल व्यवसायीहरुले थप लगानी गर्ने जानकारी दिए ।
    पत्रकार महासंघ रुपन्देहीका सहसचिव झविन्द्र देवकोटाले आगामी नयाँ वर्ष पर्यटनमैत्री बर्ष बनाउनुपर्ने भन्दै शुभकामना व्यक्त गरे । नाट्टाका प्रथम उपाध्यक्ष कुलचन्द्र पाण्डेको स्वागत तथा महासचिव सिता बस्यालको सञ्चालनमा भएको कार्यक्रममा नयाँ वर्ष २०८२ सालको टेबुल क्यालेण्डर समेत विमोचन गरिएको थियो । क्यालेण्डरमा पर्यटकीय स्थल तथा नाट्टाका गतिविधी सम्बन्धी तस्वीर पनि समावेश गरिएको छ ।