२०८२ बैशाख १३ गते, शनिबार १५:५८
  • नेपालले अंग्रेजलाई पराजित गरेको सम्झनामा बुटवलमा आज जितगढी उत्सव मनाइँदै

    बुटवल-बुटवलमा आइतबार जितगढीमा जितगढी उत्सव मनाइदै छ। २ सय १० वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढी उत्सव मनाउन लागिएको हो। वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको थियो।

    यसै दिनको सम्झना हरेक वर्ष बैशाख ७ गते विजय उत्सव मनाउने गरिएको छ। आज गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ। यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

    ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आउँदैछ। बिहान ९ बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल १ गणेशमन्दिरमा गोरखाबाट आएका नेपाली सेनाका टोलिलाई स्वागत गर्ने कार्यक्रम रहेको नगर प्रमुख पाण्डेयले बताए।

    बुटवल उपमहानगरपालिका वडा नं–१ जितगढी किल्लामा बिहान ११ बजेदेखि जितगढी उत्सवको मुल समारोह संचालन हुने कार्यक्रम रहेको छ। त्यस्तै आज साँझ ६ बजेदेखि साँस्कृतिक साँझको आयोजना गरिएको छ।