२०८२ बैशाख १३ गते, शनिबार १५:५०
  • बुटवलमा मनाइयो जितगढी उत्सव

    जितगढी किल्लालाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्छौ : मुख्यमन्त्री

    बुटवल-बुटवलमा आइतबार जितगढी उत्सव मनाइएको छ । २ सय १० वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको सम्झनामा बुटवल १ को जितगढी किल्लामा उत्सव मनाइएको हो । वि.सं. १८७२ वैशाख ७ गते तत्कालिन कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले बुटवलमा अंग्रेज फौजलाई पराजित गरेको थियो । सोही सम्झनामा आज विजयउत्सव मनाइएको हो ।

    समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । उहाँले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने समेत जानकारी दिनुभयो । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने धारणा राख्नुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जितगढीलाई गौरवको रुपमा स्मरण गर्दै विकास र प्रवद्र्धनमा हातेमालो गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले जितगढीलाई बिश्व सम्पदा सूचीमा सूतिकृत गर्न र युद्धको नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूती घोषणा गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयोे ।

    लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जितगढी बुटवलको मात्र नभई सिंगो मुलुककै सम्पदा भएकोले तिनै तहका सरकार यसको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जितगढी राष्ट्रयता प्रति गौरब गर्ने थलो भएको उल्लेख गर्नुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानाले बुटवलको जितगढीसँग गोरखाको पर्यटनलाई जोड्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, ईतिहांसका जानकार देवेन्द्र शाक्य लगायतले बोल्दै नेपालको स्वाधिनतालाई उँचो बनाएर ईतिहास कायम गरेको जितगढी किल्ला बुटवलको पर्यटनको ब्राण्ड बन्न सक्ने धारणा राखेका थिए । जितगढी उत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।