२०८२ बैशाख १५ गते, सोमबार ००:०७
  • लुम्बिनीको सभाहलमा आवाज राम्रो नसुनिएपछि प्रधानमन्त्री र पर्यटनमन्त्रीले यसो भने


    लुम्बिनी-आइतबार लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन सत्र चलिरहेको थियो। लुम्बिनीको सभाहलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे सहित पूर्वपर्यटनमन्त्रीहरु, प्रदेश सरकारका पदाधिकारी, सांसदहरु, विदेशी प्रतिनिधिहरुको पनि सहभागीता थियो। सभाहल करिब भरीभराउ देखिएको थियो । तर मञ्चमा बोलेको कुरा राम्रोसँग बुझ्न गाह्रो भएको थियो।

    समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीले क्रममा ५ हजार जना अट्ने सभाहल आफ्नै प्रतिबद्धता र पहलमा निर्माण भएको सुनाए। तर उनले हलको ध्वनीको गुणस्तर कम्जोर भएको गुनासो गरे। छिट्टै आवाज राम्रो सुनिने व्यवस्था गर्न ओलीले निर्देशन दिए। ‘मैले बोलेको बुझ्न गाह्रो भइरहेको छ। इको भएर आवाज आइरहेको छ। सुन्न असुविधा भएको छ।’ उनले भने ‘त्यसकारण ३–४ करोड लाग्छ भनेपनि केही छैन। तपाईहरुले चिप्स राखेर साउण्ड सिष्टमलाई इको हुन नदिने प्रबन्ध भरसक छिटो गर्नुहोस्। यसैबर्षको बुद्ध जयन्तीमा त नभ्याइएला अर्को वर्षको बुद्ध जयन्ती भित्रै यो काम गरिसक्नुहोस्।’

    अर्को वर्षको बुद्धजयन्तीमा बोलेको कुरा सबैले राम्रोसँग सुन्न बुझ्न सक्ने गरि हलमा कार्यक्रम हुनुपर्ने ओलीको भनाइ छ। ‘यसका निम्ती म माननिय मन्त्रीजी पर्यटन मन्त्रीजीलाई पनि ध्यानाकर्षण गर्न चाहान्छु। लुम्बिनी विकास कोषको रकमले पुग्दैन भने मन्त्रालयबाट रकम जाओस्।’ उनले भने ‘मन्त्रालयको रकमले भ्याउँदैन भने मन्त्रीपरिषदमा प्रस्ताव आओस्। जसरी हुन्छ यसलाई हामीले छिटै तयार गर्नुपर्छ।’

    प्रधानमन्त्री बोलेपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले हलको ध्वनीको गुणस्तर सुधार गर्नको लागि प्राविधिक अध्ययन गरेर प्रस्ताव अघि बढाउन लुम्बिनी विकास कोषका पदाधिकारीलाई आग्रह गरे। ‘कोषका साथीहरुलाई त्यसमा प्राविधिक अध्ययन गरि यो हलको साउण्डको क्वालिटी राम्रो बनाउने सम्बन्धमा कस्तो प्राविधिक पक्ष मिलाउनुपर्छ। त्यसको खर्च कति लाग्छ।’ उनले भने ‘त्यसको प्राविधिक अध्ययन प्रधानमन्त्री ज्युले भन्नुभएको जस्तो सम्भव भए कोषबाट सम्भव नभए मन्त्रालय हुँदै त्यो प्रस्ताव अगाडि बढाउनको लागि आग्रह गर्न चाहान्छौं। त्यो प्रस्ताव अनुसार हामी यथासिघ्र यो काम सम्पन्न गर्नेछौं।’

    लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइले ठूलो हलमा ध्वनी इको आउने समस्या धेरै ठाउँमा हुने भन्दै आगामी दिनमा यसलाई सुधार गर्ने बताए। ठूलो हलमा यत्तीको थोरै इको धेरै ठाउँमा हुन्छ। हिजोको कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले अलिकति राम्रो गरौं भन्ने प्रधानमन्त्रीज्युको कुरा हो। उनले भने यसलाई सुधार गर्नको लागि हामी प्राविधिकहरुसँग परामर्श गर्छाैं। हलमै गएर के कति खर्च लाग्छ भनेर स्टेमेट गर्छौं।’ सकभर आगामी बुद्ध जयन्तीमा नै ध्वनीको गुणस्तर सुधारर्ने गरि काम थाल्ने राइले जानकारी दिए।