२०८२ जेष्ठ ९ गते, बिहीबार १९:०७
  • उडान तालिका भएर पनि मलेसियाबाट भैरहवा आउँदैन निगमको जहाज


    भैरहवा-नेपाल बायुसेवा निगमले प्रत्येक मंगलबार क्वालालाम्पुर भैरहवा काठमाडौं उडान गर्ने तालिका छ। तर मलेसियाको क्वालालाम्पुरबाट निगमको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरेको थुप्रै महिना भइसकेको छ। भैरहवाबाट अहिले सातामा यही एउटा मात्र अन्तर्राष्ट्रिय उडान तालिकामा समावेश छ। तालिका भएर पनि निगमले उडान नगरेको हो।

    दुई वर्ष अघि निगमले क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान सुरु गरेको थियो। केही महिना यो रुटमा नियमित उडान भयो तर निरन्तरता पाउन सकेन। नोभेम्बरबाट मार्चसम्मको विन्टर सेड्युलको अवधिमा भैरहवामा कुवेतको जजिरा एयरवेज, दुबईबाट फ्लाइ दुबई, थाइल्याण्डबाट थाइ एयरएशियाले नियमित उडान गरेका थिए। केही समय कतार एयरवेजले उडान गरेपनि भैरहवाबाट यात्रुको आतजावत भएन। नेपाल बायुसेवा निगम काठमाडौं भैरहवा दुबई उडान गरेको थियो। यो जहाजमा पनि भैरहवाबाट यात्रु ओहोर दोहोर भएनन्। विन्टर सेड्युलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चहलपहल हुँदा तालिका भएपनि क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान भएन।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले मलेशियाबाट भैरहवा उडान नभएको लामो समय भएको बताए। ‘अप्रिल एक देखि लागु भएको समर सेड्युलमा अन्तर्राष्ट्रिय उडान तर्फ नेपाल एयरलाइन्सको मात्र उडान तालिका छ।’ उनले भने ‘तर तालिका अनुसार मलेशिया भैरहवा उडान भएको छैन।’

    नेपाल बायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि ४ वटा जहाज छ। त्यस मध्ये प्राय एउटा जहाज सि चेकको लागि ग्राउण्डेड भइरहेको हुन्छ। सिचेकमा भएको बेला जहाज अभावले भैरहवामा तालिका अनुसार उडान हुन नसकेको नेपाल बायुसेवा निगमका भैरहवा प्रमुख प्रकास अधिकारीले बताए।

    यात्रुको अभावको कारणले पनि तालिका अनुसार मलेशिया भैरहवा काठमाडौं उडान नभएको निगमको भनाइ छ। नेपाल वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीले जहाज कम र यात्रु अभावको कारण भैरहवामा तालिका अनुसार उडान हुन नसकेको बताए। ‘बजार प्रवद्र्धनको लागि मलेशियाबाट भैरहवा उडान सुरु गरेको हो। कनेक्टीभिटीमा त्यती यात्रु नपाउँदो रहेछ।’ उनले भने ‘धेरै जसो यात्रु काठमााडैंका हुने। भैरहवा घुमाएर काठमाडौं ल्याउँदा अफ्ठ्यारो हुँदो रहेछ।’ डाँगीले भैरहवाबाट कुनै गन्तव्यमा सिधा उडान गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको जानकारी दिए।