२०८२ जेष्ठ १० गते, शुक्रबार ००:०६
  • रुरुक्षेत्र शालग्राम महोत्सव  सुरू

    पाल्पा – ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ सुक्रबारबाट सुरू भएकाे छ। पाल्पाको रुरुक्षेत्र धाममा सुरू भएकाे महाेत्सव सनिवारसम्म चल्ने छ। महाेत्सवकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताए।

    उनले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको उल्लेख गरे।‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे। उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए।
    पाल्पाका प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले रूरू क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपर्ने बताए। कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री खेम सारू, तानसेनका मेयर सन्ताेषलाल श्रेष्ठ, पुर्व सांसद शंकर पाण्डे लगायतले कालिगण्डकी र सालग्रामकाे महत्वबारे उल्लेख गरेका थिए।

    नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
    महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा भइ पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।