२०८२ जेष्ठ ९ गते, बिहीबार १९:२६
  • गृहमन्त्री र पर्यटनमन्त्री सगरमाथा आधारसिविरमा

    काठमाडौं -गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज सगरमाथा आधारसिविरको अवलोकन गरेका छन्। शनिबार उनीहरु खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेर पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुका सार्थ शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गरेका छन्।

    गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए। उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे।

    पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताए। उनले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गरे। सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए। आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता उनीहरुका प्रमुख माग थिए।