२०८२ फाल्गुन २३ गते, शनिबार १४:१५
  • बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट आजबाट सुरु हुँदै

    काठमाडौंमा उद्घाटन र लुम्बिनीमा समापन हुने


    लुम्बिनी-बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट शुक्रबारबाट सुरु हुँदै छ। काठमाडौंमा उद्घाटन र लुम्बिनीमा समापन हुने गरि तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) ११ गतेसम्म सञ्चालन हुने छ। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा०को संयोजक र नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा ट्राभल मार्ट हुँदैछ।

    उद्घाटन पछिका केही सत्रका कार्यक्रम काठमाडौंमा हुने र बाँकी कार्यक्रम लुम्बिनी गरी समापन हुने नाट्टा लुम्बिनीले विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएका छ। नेपालको पर्यटनको दिगो विकास गर्न, धार्मिक र पर्यटकीय दृष्टिकोणले बिश्वव्यापी रुपमा परिचित लुम्बिनी र नेपालका अन्य बुद्धिष्ट गन्तब्यहरुको समेत प्रवद्र्धन गर्न ट्राभल मार्ट आयोजना गर्न लागिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले जानकारी दिए। यसले बिदेशी पर्यटकहरुको नेपाल आगमन बृद्धि गरि उनीहरुको बसाई अवधि लम्ब्याउन, स्थानीय सरोकारवाला व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गरी व्यावसायिकीकरणमा टेवा पुर्याउन सघाउ पुग्ने उनले बताए।

    ट्राभल मार्टमा नेपाली पर्यटन उद्यमको वर्तमान अवस्था, चुनौती तथा अन्तर्राष्ट्रिय बजारको सम्भाव्यता, क्रस बोर्डर टूरिजमका चुनौती, बिदेशीहरुको आँखाबाट नेपालका पर्यटनमा गर्नुपर्ने समिक्षात्मक सुधार लगायतका विषयहरुमा केन्द्रित रहेर बहस हुनेछ। यस्तै, नेपाली व्यवसायीहरुले आफ्नो व्यापारिक प्रबद्र्धन गर्ने छन्। अध्यक्ष थापाका अनुसार मार्टमा बौद्धमार्गी मुलुकहरु थाइल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम, श्रीलंका जस्ता करिब २० राष्ट्रहरुबाट १२५ जना बिदेशी ट्राभल एण्ड टुर अपरेटर कम्पनी, डेलिगेट्स, अन्तर्राष्ट्रिय मिडिया, ब्लगरहरु सहभागी हुनेछन्।

    नेपालका तर्फबाट पनि त्यत्तिकै मात्रामा नेपाली पर्यटन उद्यमीहरुको पनि सेल्स डेस्क रहने थापाले बताए। ‘यस मार्टमा बिशेषतः लुम्बिनी र नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने, बीटुबी सेल्स मार्केटिङ आयोजना गर्ने, बौद्ध सम्पदा भ्रमण र स्मारकहरूबारे प्रस्तुतिकरण गरिने, पर्यटन केन्द्रित प्यानल डिस्कर्सन गरिने र नयाँ पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय ट्राभलरहरुलाई जानकारी दिने कार्यक्रम छ। उनले भने यस मार्टमा नेपाल र बिदेशी व्यवसायीहरुबीच टुर प्याकेजहरुको खरिद विकी हुनेछ र यसबाट प्रत्यक्ष व्यावसायिक फाइदा लिन सकिनेछ’,

    मार्टमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बिश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको पवित्र जन्मस्थली लुम्बिनी आगमन र प्रस्थानको सीधा गन्तब्यका रुपमा प्रचारप्रसार गरी यसको दिगो व्यावसायिक संचालनमा समेत जोड दिइनेछ। ‘बुद्धिष्ट सर्किट टुर प्याकेजको प्रारम्भ बिन्दू लुम्बिनी पहिलो हो र बौद्ध धर्मावलम्बीहरुले पहिलो धर्म यात्रा लुम्बिनीबाटै गरेको खण्डमा पुण्यको भागी भइनेछ’ भन्ने भाष्य यस मार्टबाट प्रचार गरिने योजना रहेको नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए।

    मार्ट र सबै क्षेत्रको हातेमालोमा र सहकार्यले दिगो पर्यटनको आधार निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष एवं बीआईटीएम आयोजक समितिका सदस्य चन्द्रप्रकाश श्रेष्ठले मार्ट प्रभावकारी हुँदा मुलुकको पर्यटकीय विकासमा साकारात्मक टेवा पुग्ने जनाए। नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको संयुक्त सहकार्यमा सन् २०१९ देखि प्रत्येक २–२ वर्षमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै आएको छ । विचमा कोरोना संक्रमणका कारण मार्टको तेस्रो संस्करण यो पटक ढिला भएको हो।