२०८२ जेष्ठ ३१ गते, शुक्रबार १८:३७
  • बुद्धिस्ट ट्राभल मार्ट सम्पन्न, लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

    भैरहवा– काठमाडौं र लुम्बिनीमा ३ दिनसम्म चलेको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) मा लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवद्र्धन गर्ने विषयमा जोड दिइएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टाको सहकार्यमा भएको बीआईटीएम आइतबार एक विशेष समारोहका साथ लुम्बिनीमा सम्पन्न भएको छ। यस अन्तर्राष्ट्रिय मेलाले बौद्ध धर्ममा आस्था राख्ने मुलुकहरूबीच आपसी सहकार्यलाई बलियो बनाउने पर्यटन बोर्डले जनाएको छ।

    समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटनको दायरा फराकिलो बनाउने र अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यका साथ महत्त्वपूर्ण पहलहरू अघि बढाइरहेको जानकारी गराएका छन्। “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउँदै, हामीले पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य लिएका छौं।” उनले भने।

    मुख्यमन्त्री आचार्यले पर्यटन पूर्वाधार निर्माण, मौलिक भेषभूषा र सांस्कृतिक वैभवको प्रवद्र्धन, लुम्बिनी केन्द्रित बुद्ध सर्किटको निर्माण, कालीगण्डकी कोरिडोरको प्रचार, प्रमुख सडक र विमानस्थलहरूमा बहुभाषिक डिजिटल सूचना बोर्ड स्थापना जस्ता योजनालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् । “बुद्ध सर्किटको योजनाबद्ध विकासका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ,” उनले भने।

    लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी नेपालको गौरवस्थल भएको उल्लेख गर्दै प्रदेश सरकार यसलाई आर्थिक समृद्धिको आधार बनाउन लागि परेको उल्लेख गरे। “हामीले प्रचारप्रसारमा अझै जोड दिनुपर्छ,” उनले भने “पर्यटकको बसाई लम्ब्याउने उपायहरूमा काम भइरहेको छ, र यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ ।” न्यौपानेले लुम्बिनी विमानस्थलको नियमित उडान सुनिश्चित गर्नु जरुरी भएको उल्लेख गर्दै बुद्ध बाहुल्य देशहरूबाट सिधा उडान व्यवस्था गर्न आवश्यक पहल भइरहेको जानकारी दिए।

    कार्यक्रममा सहभागी म्यानमार ट्राभल एशोसिएसनका अध्यक्ष क्याए बोह्ने नाइङले ट्राभल मार्टमा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए। ‘यहाँको अनुभव निकै प्रेरणादायक रह्यो।’ उनले भने ‘पर्यटन र बुद्ध धर्म प्रवद्र्धनका लागि हामी सँगै हिँड्न चाहन्छौं।’ नाइङले नेपाल र म्यानमारबीच धार्मिक पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना अझ बलियो हुने विश्वास व्यक्त गरे।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले यो कार्यक्रम केवल पर्यटन व्यापारको प्रवद्र्धनका लागि नभई क्षेत्रीय सहकार्यका लागि समेत ऐतिहासिक अवसर भएको बताए। “भारतको ट्राभल एन्ड टुर अपरेटर एशोसिएसनसँग काठमाडौंमाभएको उद्घाटन समारोहमा समझदारी भएको थियो,” उनले भने “आज म्यानमार ट्राभल एजेन्सीसँग पनि सम्झौता सम्पन्न भयो, जुन क्षेत्रीय सहकार्यको बलियो आधार हो ।” थपलियाले चीनको प्रख्यात ३१८ रुट लुम्बिनीसँग जोडिएको स्मरण गर्दै त्यसले बौद्ध पर्यटनको सम्भावना अझ बढाएको बताए।

    नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले यो पर्यटन मेलाले लुम्बिनीको पर्यटना प्रवद्र्धनमा दिर्घकालिन प्रभाव पार्ने उल्लेख गरे। समारोहमा पर्यटन परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशी, बरिष्ठ पुरातत्व विद बसन्त विडारी, र लुम्बिनीका सद्भावना दुत विक्रम पाँडे काजीले लुम्बिनीको पर्यटनबारे आ आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

    बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टमा नेपालसहित भारत, म्यानमार, भुटान, श्रीलंका, थाइल्याण्ड, चीन, जापानलगायतका देशका पर्यटन व्यवसायी, बौद्ध धर्मगुरु, अध्येता र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमलर पर्यटन क्षेत्रको गुणात्मक वृद्धि, सांस्कृतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्न उल्लेखनीय योगदान पु¥याउने बोर्डले जनाएको छ।