२०८२ जेष्ठ ३१ गते, शुक्रबार २०:२३
  • लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु

    बुद्ध जन्मस्थल आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने योजना अघि सारेका छौं : मुख्यमन्त्री आचार्य

    लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ। लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा सम्मेलन भएको हो।

    शिखर सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए। उनले यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको उल्लेख गरे।
    लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिए ।

    सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा सुविधा आवश्यक रहने बताए। लुम्बिनीको विकासमा पर्यटन शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका उनले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने उनको भनाइ छ।

    सूचना प्रविधिको उच्चतर प्रयोग गर्दै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारतीय पर्यटकको कार्यथलो हुनेगरी सेवा मूलक पूर्वाधारको आवश्यकता रहेको श्रेष्ठले बताए।
    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताए। त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ।

    उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबीच समन्वय आवश्यक रहेको भन्दै सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए। लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले समग्र लुम्बिनीको पर्यटन विकासका लागि प्रदेश सरकारले प्राधिकरण स्थापना गर्ने नीति लिएको जानकारी दिए। उनले लुम्बिनी विश्वकै लागि महत्वपूर्ण स्थान भएकाले यसमा प्रदेश सरकारको समेत भूमिका बलियोगरी स्थापना हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग हुने बताए।

    प्रदेश सरकार, विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयसहितका संस्थाहरुको सहकार्यमा लुम्बिनीको प्रवद्र्धन महत्वपूर्ण रहने उनले बताए । उनले लुम्बिनीमा रहने पर्यटक गाइड पनि कुनै निकायबाट सूचिकृत रहेको बताउनुपर्ने बताए।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको औल्याए। लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै प्रदेश सरकारसंग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको बताए।
    दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसंग सम्बन्धित रहेर सात वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन सोमबार सम्पन्न हुने जनाइएको छ।