केही एयरलाइन्सहरुले विन्टर सेड्युलको लागि अहिलेदेखी नै आवेदन दिइसकेका छन्

प्रतापबाबु तिवारी
केही महिना अगाडि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३ सय उडान र अवतरण भएको पनि हो। गत जनवरीदेखी मार्चसम्मको ३ महिनामा ७ हजार यात्रुको आवगमन भयो। तर विजनेशका विभिन्न कोणबाट विश्लेषण गरेर एयरलाइन्सहरुले समर सेड्युलमा उडानहरु राखेनन। तै पनि हामी हतोत्साही हुनुपर्दैन। अब यो एयरपोर्ट चल्दैन कि भनेर विभिन्न कोणबाट सोच्नुपर्ने कुनै कारण मैले देख्दिन।
अन्तर्राष्ट्रिय उडानको लागि बिगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र एउटै थियो। देशको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमतामा पनि विभिन्न लिमिटेसनहरु थिए। क्षमताबृद्धि गर्न धेरै समस्या छ। एउटै मात्र रन वे र टर्मिनल छ। ट्रमिनलको पनि क्षमता साँघुरो छ। दिनानु दिन ट्राफिक पनि बढ्दो क्रममा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कतिसम्म धान्न सक्छ र ? यसको विकल्प त चाहीयो। त्यस हिसाबले पनि हामीले भैरहवामा अन्तर्राष्ट्रिय एयरपोर्ट तयार गरेका हौं।
भैरहवाको यो एयरपोर्ट काठमाडौंकै जस्तो प्रकृतीको हो। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कति भिड हुन्छ तपाईहरुले देख्नुभएको होला। त्यो क्रम बढ्दो छ। एयरपोर्टको होल्डिङ बढ्दो छ, डिले बढ्दो छ। त्यसलाई व्यवस्थापन गर्न पनि त्यस्तै प्रकृतिको अन्तर्राष्ट्रिय विमानस्थल हामीलाई चाहिएको थियो। त्यसैले भैरहवामामा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं। नयाँ एयरपोर्ट भइसकेपछि हिजो अभ्यस्त भइरहेका यात्रुहरुलाई यता डाइभर्ट गर्न केही समय लाग्छ। केहि योजना हामीले बनाउनै पर्छ। मार्केटिङ पनि गर्नुपर्छ।
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन समय लागेको मात्र हो। अन्तर्राष्ट्रिय उडानहरु यहाँ नआइ सुखै छैन। किन कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धेरै भिड भइसकेको छ। पिक टाइममा धेरै क्राउडेट छ। अघिल्लो साल सन् २०२३ मा ४६ लाख अन्तर्राष्ट्रिय यात्रु थिए। ०२४ मा आएर ४९ लाख छन्। काठमाडौको एयरपोर्टमा बर्षको ३ लाखको दरले अन्तर्राष्ट्रिय यात्रु बढिरहेका छन्। बढिरहेका यात्रु कहाँ जान्छन् त यही आउँछन्। त्यसहिसाबले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य छ। अर्को तर्फ लुम्बिनी त छँदैछ । यसले पनि भैरहवाको विमानस्थललाई चलायमान बनाउन सघाउ पुर्याउंछ।
यस एयरपोर्ट सञ्चालनको लागि नेपाल सरकारले विगतमा कार्ययोजना पनि बनायो। ती कार्ययोजनाका केही निर्णय कार्यान्वयन हुन बाँकी छ। यात्रुलाई सहज बनाउने विषयका केही निर्णय पाइपलाइनमा छ।
यो पटकको बजेट भाषणबाट पनि थप प्रोत्साहन दिने कुरा जोडिएर आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तै क्षमताको कार्गो भवन र सुविधा पनि हामीसँग छ। कार्गोलाई सञ्चालन गर्न यहाँ उपयुक्त ठाउँ पनि हो। हामीले ट्रान्जिट एयरपोर्टको रुपमा विकास गरेर कार्गो ह्याण्डलीङ गर्न पनि यो एयरपोर्ट सञ्चालन गर्न सकिने अवस्था छ। त्यो माध्यम पनि हामीसँग छ। अलिकती समय लागेको मात्र हो। यसमा आत्तीनुपर्ने कुराहरु केही छैन।
केही एयरलाइन्सहरुले विन्टर सेड्युलको लागि अहिलेदेखी नै आवेदन दिइसकेका छन्। हामीले ‘विन्टर किन कुर्ने अहिलेदेखी नै राख्नुस् न’ भनेर जोड गरिरहेका छौं। केही थप एयरलाइन्स आउने तरखरमा पनि छन्। तर अलि समय लाग्छ धैर्य राख्नुहोस्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को विकल्प छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ, आउनैपर्छ। यती चाहिँ विश्वस्त गर्न म चाहान्छु। यहाँहरुले आन्दोलन गर्नुपर्ने जरुरी छैन।
(शिद्धार्थ होटल एशोसिएनको स्थापना दिवसको अवसरमा व्यक्त विचार)

