२०८२ जेष्ठ ३० गते, बिहीबार १९:५७
  • लुम्बिनीमा मे महिनामा ९२ हजार आन्तरिक पर्यटक आए

    बुद्ध जयन्तीमा मात्र ६१ हजार



    लुम्बिनी
    – बुद्ध जन्मस्थल लुम्बिनीमा गत मे महिनामा ९२ हजार ९८ जना आन्तरिक पर्यटक लुम्बिनी आएका छन्। जस मध्ये ठूलो हिस्सा अर्थात ६१ हजार ८५० बुद्ध जयन्तीको दिन मात्र आएका हुन्। मे र बुद्ध जयन्तीमा आउने आन्तरिक पर्यटक यस वर्ष बढेको देखिएको छ। अघिल्लो वर्ष सन २०२४ को मे महिनामा ८६ हजार २१६ जना नेपाल भित्रबाट लुम्बिनी घुम्ना आएका थिए। जस मध्ये ५४ हजार २३१ जना बुद्ध जयन्तीको दिन मात्र आएका थिए।

    तर कोभिड अगाडीको अवस्थालाई आधार मान्दा अझै पनि लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्या निकै कम छ। सन् २०१९ को मे महिनामा १ लाख ५४ हजार ७०७ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। जस मध्ये ६५ हजार ५०० जना बुद्ध जयन्तीको दिन मात्र आएका थिए। बुद्ध जयन्तीमा आन्तरिक पर्यटकको आगमनलाई हेर्दा कोभिड अघि र अहिले उस्तै देखिएको छ।

    गत मे महिनामा भारतीय पर्यटक ३० हजार ५६९ भारतीय पर्यटक लुम्बिनी आएका छन्। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा झण्डै ८ हजारले कम हो। सन् २०२४ को मे महिनामा ३८ हजार ९०६ भारतीय लुम्बिनी आएका थिए। यस्तै गत महिना २ हजार ७९० तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन्। सन् २०२४ को मे महिनामा २ हजार ९२४ विदेशी पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ को सोही अवधिमा ३ हजार २२८ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ।