
सुदीप भण्डारी
विगतमा बुटवल तिनाउ किनारको सानो व्यापारीक केन्दको रुपमा रहेको थियो । अहिलेको मुख्य बजार भन्दा पारी चुरेको काखमा रहेको त्यो ठाउँलाई बटौली भनिन्थ्यो । २०३० साल अघिसम्म पहाडबाट कैयौ दिन हिडेर हाम्रा बाबुबाजे बटौलीमा किनमेल गर्न आउँथे ।
पहाडबाट लिएर आएको घिउ बटौलीमा बेचिन्थ्यो र बटौली बजारबाट नुन तेल कपडा लगायत घरायसी सामान किनेर लैजाने गरिन्थ्यो । पहाडी ठाउँमा सामान ढुवानी गर्न बटौलीमा खच्चरहरु हुन्थे भने । तराइका ठाउँमा सामान ढुवानी गर्ने गोरु गाडा देखिन्थे । सडकको नाममा बुटवल भैरहवा साँघुरो कच्ची सडक मात्र थियो । जहाँ दिनमा एक दुईवटा गाडी चल्थे । पछि सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि पहाडी जिल्लामा पनि सवारी साधन चल्न थाले ।

३० को दशकसँगै पूर्वपश्चिम राजमार्ग पनि सञ्चालनमा आयो । सडक सुविधाका तिनाउ वारी खस्यौलीमा बस्ती विस्तार हुँदै गयो । त्यसबेला देखी नै एक प्रकारले बुटवल बस्न योग्य शहरको सूरुवात भयो । विगतमा कतिपय नेपालीहरु रोजगारीको रुपमा भारत जान्थे । यस्तै भारतीय र बेलायती सैनिकमा पनि कार्यरत थिए । उनीहरु सुनौली नाका हुँदै घर आउँथे । घर फर्कर्ने क्रममा बुटवलसम्म गाडीमा आएर एक रात बास बसेर भोलीपल्ट हिड्दै आफ्नो गाउँ ठाउँ जान्थे ।
पहाडी जिल्लामा सवारी साधन चल्न थालेपछि पनि लाहुरेहरु बुटवल आइ एक रात बस्थे । भोली पल्ट गाडी चढेर जाने प्रचलन थियो । यात्राको क्रममा होस् या किनमेल र व्यापारको क्रममा नै किन नहोस् उनीबेला बुटवल केही समय भएपनि बस्न योग्य अर्थात बस्नुपर्ने ठाउँको रुपमा थियो । पश्चिम नेपालको प्रमुख शहरको रुपमा बुटवल स्थापित भयो । सुरुवातमा प्राय व्यापार व्यवसाय गर्ने उदेश्यले नै पहाडबाट मानिसहरु बुटवल झरे ।
यहाँ उद्योग तथा प्रतिष्ठान तथा सरकारी कार्यालयहरु स्थापना भए । त्यसपछि जागिरको शिलसिलामा बुटवल झर्ने क्रम सुरु भयो । तत्कालिन समयमा बुटवल लुम्बिनी प्रदेशको सदरमुकामको रुपमा रहयो । यहाँ अञ्चलाधिशको कार्यालय थियो । अरु महत्वपूर्ण कार्यालयहरु पनि खुल्दै गए । कार्यालयमा जागिर गर्नेहरु मध्ये धेरैले बुटवललाई स्थायी बासस्थानको रुपमा रोजे । उच्च शिक्षा अध्यनको लागि पनि बुटवल नआइ सुखै थिएन । यहाँको बुटवल बहुमुखी क्याम्पसमा साविक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट मात्र नभई स्याङ्जा, प्युठान, पर्वत बाग्लुङबाट समेत आएर भर्ना भर्ना भइ अध्ययन गर्थे । बुटवलमा क्रमश अरु नीजि तथा सामुदायीक क्याम्पसहरु पनि स्थापना हुन थाल्यो ।
लुम्बिनी बाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस लगायतका शैक्षिक संस्थामा पहाडबाट थप विद्यार्थी बुटवल आएर पढ्न थाले । उच्च शिक्षा मात्र नभई बुटवल विद्यालय शिक्षाको पनि हब बन्न थाल्यो । यहाँको कालिका मानवज्ञान मावि नेपालमै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । प्रत्येक वर्ष उत्कृष्ठ नतिजा ल्याउँदै आएको यो विद्यालयमा जिल्ला बाहिर टाढा टाढाबाट समेत विद्यार्थीहरु पढ्न आउने गर्दछन् । त्यस्तै कान्ती मावि, नविन औद्योगिक कदर बहादुर माविमा पनि विभिन्न ठाउँका विद्यार्थीहरुको रोजाइ बन्ने गरेको छ । एसइई तथा १२ कक्षाको परिक्षामा निजी विद्यालयहरुले पनि देशभरमै उत्कृष्ठ नतिजा ल्याउने गरेका छन् । यसबाट बुटवल शैक्षिक हिसाबले पनि बस्न योग्य शहर मान्न सकिन्छ ।
पश्चिम भेगको लागि स्वास्थ्य उपचारको गन्तव्य पनि बुटवल रहेको थियो । साविक लुम्बिनी अञ्चल अस्पताल अर्थात अहिलेको प्रादेशिक अस्पतालमा गाउँ ठाउँबाट उपचार गर्न आइरहन्छन् । अन्य केही निजी अस्पतालमा पनि विरामीहरुको भिड लाग्ने गर्दछ । स्वास्थ्य सुविधाका कारण पनि बुटवलले बसाइको लागि आकर्षित गरिरहेको छ ।
सडक सञ्जाल र यातायातको पूर्वाधारको हिसाबले पनि बुटवल देशकै एउटा सुगम ठाउँको रुपमा पर्दछ । पहाडी जिल्लाको प्रवेशद्वारको रुपमा रहेको छ । त्यस्तै बेलहिया हुँदै भारत जानको लागि पनि देशका विभिन्न ठाउँबाट बुटवल आएर दक्षिण लाग्नुपर्छ । अहिले बुटवल बजारको मुख्य सडक ६ लेनको छ । सडकले पूर्णता पाउन केही बाँकी छ । बुटवलदेखी भैरहवा र बेलहिया सम्म २५ किलोमिटर ६ लेन सडकले बुटवल आवतजावतमा धेरै सहज बनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल पूर्व नारायणगढ सम्म ४ लेन सडक निर्माण केही महिनामै सकिँदै छ । बुटवल पश्चिम गोरुसिंगेसम्मको पनि ४ लेन सडक निर्माण सुरु भएको छ । पूर्व र पश्चिमका यी सडक तयार भएमा बुटवल यातायातको हिसाबमा अझ अब्बल मानिन्छ । पूर्वाधार तर्फ पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनकी केन्दै यहाँ रहेका छन् । नीजि क्षेत्रबाट पनि ठूला सपिङ कम्प्लेक्स र स्तरिय होटलहरु बुटवलमा खुलेका छन् ।
पर्यटकीय हिसावमा पनि बुटवल बस्न योग्य शहरको रुपमा रहेको छ । रुपन्देहीमा लुम्बिनी पछि सबैभन्दा बढि पर्यटक आउने ठाउँ मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क बुटवलमा छ । यो ठाउँमा मणिमुकुन्द सेनको सितकालिन दरबार रहेकाले ऐतिहासिक महत्व समेत रहेको छ। नेपालले अंग्रेजलाई पराजित गरेको स्थान जितगढी किल्ला बुटवलमा छ । पुरानो बुटवल अर्थात बटौली अर्को पर्यटकीय क्षेत्र हो । नुवाकोट र बसन्तपुर जस्ता हिल स्टेसनमा पुग्न दुई वटा केबलकार यहाँ रहेका छन् । लुम्बिनी र पाल्पा आएका पर्यटकहरुको प्रवेशद्वारको रुपमा पनि बुटवल रहेको छ । पर्यटक बस्नको लागि आरामदायी होटलहरु बुटवलमा छन् ।
बस्न योग्य बुटवल शहरको लागि उपमहानगरपालिकाले थप कामहरु गरिरहेको छ । बुटवल उपमहानगरपालिकाले यहाँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । शहरको सौन्दर्यकरण, व्यवस्थापन र सेवा सुविधामा सुधार ल्याउन संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अघि बढेको छ। स्वरोजगार सिर्जना गर्दै उपमहानगरले विभिन्न प्राविधिक तथा सिपयुक्त तालिमहरु प्रदान गर्दै आएको छ ।
यस्तै कृषिको क्षेत्रमा पनि उपमहानगरपालिकाले कृषि क्षेत्रलाई पनि विशेष ध्यान दिइरहेको छ।