२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • बुटवल उज्यालो र रात्रीकालिन शहरको रुपमा विकास हुँदै

    बुटवल-रातीको समयमा अहिले बुटवलका सडक र चोकहरु उज्यालो भएका छन् । योगिकुटीबाट चिडियाखोलासम्म अनि तिनाउपारी मैनाबगरसम्मका सडक र चोकहरु उज्याला देखिएका छन्। बुटवल उपमहानगरपालिकाले चहलपहल हुने व्यस्त ठाउँहरुमा हाइमस्ट लाइट जडान गरेको छ ।

    २०८० फागुन २ गते उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकको सडकमा हाइमष्ट लाइट जडानको शिलान्यास गरेको थियो। त्यसपछि बसपार्कसँगै योगिकुटी चोक, कालिकाचोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, राजमार्ग चौराह, जितगढी किल्ला लगायतका ठाउँमा हाइमष्ट लाइट जडान भएका छन् । त्यस्तै बीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक लगायतका ठाउँ पनि हाइमष्ट लाइटले उज्यालो भएको छ ।

    अहिलेसम्म ४९ ठाउँमा हाइमस्ट लाइट जडान भइसकेको बुटवल उपमहानगरपालिकाका इन्जिनियर हरिओम कार्कीले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा २६ वटा हाइमस्ट लाइट जडान भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा २३ ठाउँमा लाइट जडान गरिएको थियो।’ उनले भने ‘ राजमार्ग क्षेत्रका योगिकुटी देखी चिडियोखोलासम्म मुख्य चोकहरुमा हाइमष्ट लाइट जडान गरिएको छ। त्यस्तै राजमार्ग बाहेकका बढि चहलपहल हुने ठाउँमा समेत हामइमस्ट लाइटले उज्यालो गराइएको छ।’ भित्री सडक अन्तर्गत पर्ने मठ मन्दिर अघि र बढि चहलपहल हुने ठाउँमा हाइमस्ट लाइट राखिएको इन्जिनियर कार्कीले जानकारी दिए ।

    चालु आर्थिक वर्षमा जडान भएका २६ वटा हाइमस्ट लाइट मध्ये १६ वटा १६ मिटर अग्ला छन् । त्यस्तै १० वटा १० मिटर अग्ला रहेको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १६ मिटर, साढे १२ मिटर र १० मिटरका लाइट जडान गरिएको थियो । सडकमा जडान गरिएका हाइमस्ट लाइटले सडकलाई उज्यालो मात्र बनाएको छैन । सुरक्षित पनि बनाएको छ । सवारी चालकहरुले आरामसँग सवारी साधन चलाउन पाएका छन् । पैदलयात्रुहरु पनि उज्यालोमा निर्धक्कसँग हिड्न पाएका छन् । उज्यालोले सडकमा हुने दुर्घट्ना कम गर्न सघाउ पुयाएको छ ।

    शहरका मुख्य ठाउँ उज्यालो भएपछि यसले बजारको चलायमान पनि बढेको व्यवसायीहरुको भनाइ छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले सडक र चोक उज्यालो हुँदा बजारलाई चलायमान हुन सघाउ पुग्नुका साथै शान्ति सुरक्षाको लागि पनि सहज भएको बताए । ‘उज्यालो शहरले बजारलाई चलायमान गराउँछ । रमाइलो वातावरण सिर्जना गर्ने भयो ।’ उनले भने ‘अहिले ठाउँ ठाउँमा सिसि क्यामरा छ । सिसी क्यामरा र उज्यालोको सहयोगमा अपराध गरेकाहरुको पहिचान गर्न सहज हुन्छ । हामी व्यवसायीले केही मात्रामा भएपछि सुरक्षित भएको महसुस गरेका छौं।

    बुटवलमा धेरै जसो पसल र व्यवसायीक प्रतिष्ठानहरुले सिसि क्यामरा राखेका छन् । त्यस्तै बुटवल उपमहानगरपालिकाले आँफैले पनि १२५ ठाउँमा सिसिटिभि क्यामरा जडान गरेको छ । उज्यालो र सिसि क्यामराले अपराध नियन्त्रण र अनुसन्धान गर्न धेरै सहज भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘हाइमस्ट लाइट र सिसिटिभीको कारण अपराध अनुसन्धानमा उल्लेख्य योगदान पुगेको छ । कतिपय चोरी तथा सवारी दुर्घट्नाहरुमा सिसिटिभीको मद्दतले अभियुक्तको पहिचान गरि कारवाही अगाडी बढाएका छौं ।’ उनले भने ‘सुरक्षाको लागि प्रहरीको म्यानपावरले मात्र सम्भव छैन । सिसीटीभी र लाइटीङले धेरै सहयोग पुगेको छ ।’

    यस्तै उज्यालो बुटवल रात्रीकालिन बजारको रुपमा पनि अघि बढ्दै छ । साढे २ वर्ष अघि २०७९ सालमा बुटवल उपमहानगरपालिकाले रात्रीकालिन बजार बनाउने प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार उपमहानगरपालिकाले विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गर्दै आएको छ । प्रशासनसँग पनि पहल पनि गरिरहेको छ । विशेष गरि कालिकापथ क्षेत्रलाई रात्रीकालिन बजारको रुपमा अघि बढाउन खोजिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । ‘हामीले कालिकापथलाई राती २ बजेसम्म र ट्राफिक चोकलाई रात्री ११ बजेसम्म सञ्चालन हुनेगरि रात्रीकालिन बजारको जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरेका छौं ।’ उनले भने ‘बजार सञ्चालन गर्ने भनेर परिपत्र आइसकेको छैन । त्यसको लागि हामीले सुरक्षा व्यवस्थापनको काम गरिरहेका छौ ।’ रानाले बुटवल छिट्टै रात्रीकालिन बजारको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

    यद्यपी केही व्यवसायहरुले आफ्नो हिसाबले राती २ बजेसम्म सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई रात्रीकालिन बजार बनाउन अहिलको आवश्यकता भएको बताए । ‘कालिकापथलाई रात्रीकालिन बनाउन अहिले अपरिहार्य छ । कालिकापथमा थुप्रै होटल तथा रेष्टुरेन्टहरु खुलेका छन् ।’ उनले भने यहाँ बढ्दै गएको चहलपहलले रात्रीकालिन बजारको माग गरेको छ । यसबाट आर्थिक चलायमान अझै बढ्छ ।’ रात्रीकालिन बजार भएमा लामो दुरीमा यात्रा गरेकाहरु एक छिन भएपनि बुटवलमा अडिने वातावरण बन्ने संघका अध्यक्ष भण्डारीको भनाइ छ ।

    बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष विमलराज भट्राईले रात्रीकालिन बजारको लागि संघले पनि विगतदेखी नै पहल गरेको बताए । भट्टराईले अब विस्तारै बुटवल रात्रीकालिन बजारको रुपमा अघि बढ्ने उल्लेख गरे । ‘उपमहानगरले पनि आफ्नो तर्फबाट पहल गरिरहेको छ केही व्यवसायीहरुले जिल्ला प्रशासनबाट रात्रीकालिन व्यवसाय चलाउन अनुमती लिइसक्नुभएको छ। कसैले ११ बजे, कसैले १२ र कसैले २ बजेसम्म अनुमती पाएका छन्।’ उनले भने ‘यो क्रम बढ्दै गयो भने बुटवल रात्रीकालिन बजारको रुपमा विकास हुन्छ।’

    रात्रीकालिन बजारको विकास हुँदा बुटवलमा पर्यटकीय चहलपहल पनि बढ्ने आशा गरिएको छ । पाल्पा, पोखरा हिडेका भारतीय पर्यटक बुटवल अडिने र एक रात बस्ने वातावरण बन्छ । यस्तै कतिपय भारतीय पर्यटकहरु बुटवलसम्मकै लागि भएपनि आउने गर्दछन् । रात्रीकालिन बजारको रुपमा विकास गरेर बुटवललाई बस्न योग्य शहरको रुपमा विकास गर्ने बुटवल उपमहानगरपालिकाको योजना छ ।