२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • पर्यटकीय गन्तव्य बुटवल, यी हुन घुम्नुपर्ने मुख्य ठाउँहरु

    सुदीप भण्डारी
    पछिल्लो समय बुटवलले पर्यटकीय शहरको रुपमा समेत आफूलाई विकास गर्दै लगेको छ । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक, पुरातात्वीक, धार्मीक, सांस्कृतीक महत्व बोकेको ठाउँहरु छन् । बुद्धजन्मस्थल लुम्बिनी र पाल्पाको लगभग विचमा रहेको बुटवलमा पर्यटकलाई भुलाउन सकिने थुप्रै गन्तव्यहरु रहेका छन्। पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने अर्थात भारतबाट बेलहिया हुँदै आएर पाल्पा पोखरा लगायत पहाडी जिल्ला प्रस्थान गर्न लागेकाहरुले बुटवलमा एक दुई दिन भुलेर यहाँका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ। बुटवल र आसपासमा प्राकृतिक रुपमा रमाउन सकिन्छ। त्यस्तै धार्मिक ऐतिहासिक, पुरातात्वीक सम्पदाहरु पनि यहाँ रहेका छन् । यस्तै बुटवलमा पर्यटकीय पूर्वाधारहरु पनि निर्माण भएका छन् । बुटवल उपमहानगरपालिकाले पनि यी ठाउँहरुको विकास र प्रवद्र्धनको लागि निरन्तर पहल गरिरहेको छ । पर्यटकीय गन्तव्य र पूर्वाधारहरुका कारण बुटवल बस्नयोग्य शहरको रुपमा स्थापित हुँदै गाएको छ । यहाँ हामीले बुटवलका केही प्रमुख पर्यटकीय गन्तव्यहरुको चर्चा गर्दैछौं

    जितगढी किल्ला
    २१० वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको छ । जुन बुटवलको मुख्य बजारबाट तिनाउ पारी पर्दछ । कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले विक्रम सम्वत १८७२ साल बैशाख ७ गते अंग्रजलाई परास्त गरेको थियो । अंग्रेजमाथि जित हासिल गरेकाले यो ठाउँलाई जितगढी भनिएको हो । विगतमा जिर्ण अवस्थामा रहेको यो किल्लामा नेपाली सेनाले संरचनाहरु निर्माण गरि बुटवल उपमहनगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । उपमहानगरपालिकाले पनि किल्लाको व्यवस्थित विकास र प्रवद्र्धनको लागि कार्यविधि बनाइसकेको छ ।
    जितगढीमा महत्वपूर्ण सम्पदाको रुपमा युद्धताकाको किल्ला अवलोकन गर्न सकिन्छ । ऐतिहासिक किल्लासँगै कर्नेल उजिसिंह थापा र नेपाललाई जिताउन योगदान गरेकाहरुको शालिक पनि यहाँ रहेको छ । साथै युद्धको झल्को दिने प्रतिमाहरु समेत यो ठाउँमा राखीएको छ ।


    विगतमा ओझेलमा रहेको जितगढीमा पछिल्लो वर्ष केही चहलपहल देखिन थालेको छ । बुटवल र आसपासका विद्यालयका विद्यार्थीहरुलाई जितगढी अवलोकन गराउने प्रचलन बढेर गएको छ । इतिहासमा रुची राख्नेहरु र अनुसन्धान गर्न खोज्नेहरु पनि जितगढी आउने गरेका छन् । प्रतिष्ठित व्यक्तीहरु बुटवल आउँदा उपमहानगरपालिकाले जितगढीमा स्वागत गरि अवलोकन गराउने गरेको छ । यस्तै समय समयमा विभिन्न संघ संस्थाहरुको आयोजनामा जितगढीमा कार्यक्रमहरु हुने गरेका छन् । जसले जितगढीको पहिचान उजागर गर्न सघाउ पुयाएको छ ।

    मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क)
    जितगढी किल्लाबाट नजिकै करिब ५ सय मिटरको दुरीमा मणिमुकुन्द सेन उद्यान पुग्न सकिन्छ । फूलबारीको नामले चिनिने यो उद्यानमा बार्षिक ५ लाख बढि पर्यटक आउने गरेका छन् । रुपन्देहीमा लुम्बिनी पछि सबै भन्दा बढि पर्यटक मणिमुकुन्द सेन उद्यान आउने गरेका छन् ।
    २५ विघा क्षेत्रमा फैलिएको फूलबारीमा प्रवेश गरेपछि केही बेर रमणीय उद्यानको अवलोकन गर्न सकिन्छ । उद्यान भित्रै तत्कालिन पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको सितकालिन दरबारको भग्नावशेष रहेको छ । त्यसैले यो रमणीय मात्र नभई ऐतिहासिक महत्वको ठाउँ समेत हो । उद्यान भित्र चिडियाखाना पनि छ । जहाँ चितुवा, भालु, बाँदर, स्याल, निलगाइ जरायो, अजिंगर लगायतका जिवजन्तु चराचुरुङगीहरुको अवलोकन गर्न सकिन्छ । मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क देशकै नाम चलेका पार्क मध्ये एक हो । कात्र्तिक देखी फागुन सम्मको अवधिमा देशका विभिन्न ठाउँबाट शैक्षिक र समुहगत भ्रमणको लागि आउने गर्दछन् । यही अवधिमा बनभोज खानेहरुको भिड लाग्ने गरेको छ । भारतबाट समेत थुप्रै पर्यटक फूलबारीको अवलोकन गर्न आउने गरेका छन् । केही उचाइमा रहेको फूलबारीबाट बुटवल शहरको दृष्य समेत नियाल्न सकिन्छ । बुटवलमा पर्यटकीय चहलपहल बढाउन फुलबारीले सघाउ पुर्याएको छ ।

    बटौली क्षेत्र
    फूलबारीबाट तल तिनाउ किनारमा पुरानो बुटवल अर्थात बटौली क्षेत्र रहेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने बटौली क्षेत्र बुटवलको पुरानो र इतिहास बोकेको बजार हो । पहाडका विभिन्न जिल्लाबाट हाम्रा बाबुबाजेहरु केही दिन हिडेर बटौलीमा किनमेल गर्न आउँथे । पहाडबाट लिएर आएको घिउ यहाँ बेचेर नुन तेल कपडा किनेर लैजाने गरिन्थ्यो । बटौली क्षेत्रमा अझै पनि पुराना सैलीका घर देख्न सकिन्छ । साथै ऐतिहासिक मठ मन्दीर र सम्पदाहरु पनि यो ठाउँमा रहेका छन् । बटौली क्षेत्रको उत्तर तर्फ गणेश मन्दिर रहेको छ । त्यस्तै नारायणथान, निमचोक, कदम चोक, पद्म चैत्य विहार, बाघ भैरब, छेकइ भैरव, सुकुलबाबा मन्दिर, शहश्रधारा, जामे मस्जित लगायतका पुराना सम्पदा यहाँ अवलोकन गर्न सकिन्छ ।


    पुरानो नगरपालिकाको कार्यालय भएको स्थानमा बटौली संग्राहालय निर्माण भएको छ । तर यो संग्रालय सञ्चालनमा आउँन बाँकी छ । ऐतिहासिक ठाउँ भएर पनि बटौली अझै ओझेलमा छ । बुटवलको इतिहासलाई बुझ्न पुराना सम्पदाहरु चिन्न बटौली घुम्न आवश्यक छ । बटौलीको पहिचान उजागरको लागि यहाँ विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्न जरुरी छ । बटौली साहित्यीक महोत्सव, सम्पदा पदयात्रा जस्ता अभियानले बटौलीको प्रचार प्रसार र प्रवद्र्धनमा सघाउ पुग्दछ । बटौलीमा अझै कतिपय पुराना घर छन् । धेरै घर आधुनिक बनेका छन् । पुराना सैलीका घरहरुको संरक्षण हुनुपर्छ । साथै आधुनिक घरको तल्लो तलाको अगाडीको भागलाई मौलिक स्वरुपमा बदल्न सक्ने हो भने बटौली पर्यटकको आकर्षणको अर्को गन्तव्य बन्न सक्छ ।

    शिद्धबाबा मन्दिर
    बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने शिद्धबाबा मन्दिर धार्मिक आस्थाको केन्द्र हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने शिद्धबाबा बुटवलको प्रमुख धार्मिक स्थल हो । शिवरात्री, साउनको सोमबार सिद्धबाबा मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ । साथै प्रत्येक साता सोमबार र शनिवार पनि मन्दिरमा चहलपहल बढ्ने गर्दछ । नेपाल घुम्न आएका छिमेकी मुलुक भारतका पर्यटकहरुले पनि सिद्धबाबा मन्दिर दर्शन गर्ने गरेका छन् । रुपन्देहीको बुटवलमा रहेको सिद्धबाबालाई तल्लो शिद्धबाबा भनिन्छ । तल्लो शिद्धबाबाको केही दुरीमा पाल्पाको तिनाउँ गाउँपाकिलामा अर्को शिद्धबाबाको मन्दिर पनि रहेको छ । जसलाई माथिल्लो शिद्धबाबा भनिन्छ । दुबै शिद्धबाबा मन्दिरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ ।

    रामापिथेकस पार्क
    सिद्धबाबा मन्दिर नजिक आदिमानव रामापिथेकसको बंगाराको अवसेष फेला परेको ठाउँ छ । यहाँ फेला परेको दाँत अमेरिकामा विशेष परिक्षण पश्चात नेपाल ल्याइएको हो । परिक्षण र अध्यनपछि यो अवसेष १ करोड १० लाख वर्ष पुरानो भएको भएको मानिएको छ । फेला परेको रामापिथेकसको बंगारालाई त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रालय काठमाडौमा राखिएको छ । बंगारा भेटिएको स्थानमा रामापिथेकस पार्क बनाइएको छ । महत्वपूर्ण ठाउँ भएर पनि रामापिथेकस पार्कमा पर्यटकीय चहलपहल कम हुने गरेको छ । सिद्धबाबा नजिकै भएकाले यसलाई धामसँग जोडेर पर्यटन प्रवद्र्धन र विकास गर्न सकिन्छ ।

    हिलपार्क
    हिलपार्क बुटवलको नजिक र सहज ठाउँमा रहेको हिल स्टेसन हो । जहाँ कोलाहलबाट मुक्त र शान्त वातावरणको अनुभव गर्न सकिन्छ । हिलपार्कमा जंगल यात्रा गर्दा चराचुरुगींको मन्त्रमुग्ध आवाज सुन्न सकिन्छ । यहाँबाट बुटवल शहरका साथै पर सम्मका दृष्य नियाल्न सकिन्छ । विहान हिलपार्कमा मर्निङ वक र व्यामको लागि जानेहरुको भिड लाग्छ । दिउसोको समयमा पनि हिलपार्कमा घुम्न जानेहरुको चहलपहल देखिन्छ । हिलपार्कमा ढुंगामा कुदिएका मुर्तिहरु रहेका छन् । यहाँ ३५ मिटर अग्लो बुद्धको मुर्ति बनाउने योजना बनेको छ ।

    ग्लोबल पिस पार्क
    बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहमा आकर्षक पार्क रहेको रहेको छ । १६ विघाहा क्षेत्रफलमा फैलिएको ग्लोबल पिसपार्कमा अध्याध्मीक संरचनाहरु बनेका छन् । व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले यहाँ उद्यान सहितको संरचना निर्माण गरेको हो । प्रकृतिमा रमाउने, शान्त एवं अध्यात्मिक वातावरण खोज्नेहरुका लागि यो ठाउँ उपयुक्त गन्तव्य हो । शिव मूर्ति सहितको कैलाश पर्वत यहाँको मुख्य आकर्षण रहेको छ । पछिल्लो समय शान्त वातावरणमा रमाउनको लागि पिस पार्क जानेहरु बढेका छन् ।
    ग्लोबल पिस पार्क नजिक पूर्वपट्टी मिलन पार्क पनि रहेको छ । यो पार्कमा विदामा घुम्न आउने र बनभोज खानेहरुको चहलपहल हुन्छ । मिलन पार्कमा हात्ती, घोंडा लगायतका आकृती बनाइएको छ ।

    कपरकट्टी ताल
    बुटवल उपमहानगरपालिका वडा नम्बर १६ बैठौलीमा सिमसार क्षेत्र रहेको छ । जुन ताललाई मिनि फेवा तालको रुपमा पनि चिनिन्छ । ताल एक किलोमिटर लम्बाइ र करिब ३ सय मिटरसम्म चौडाइमा फैलिएको ताल ५ मिटर गहिरो छ । तालमा फाट्ट फूट्ट रुपमा अवलोकन गर्न आउने गरेका छन् ।
    ताल नजिकै नरैनापुर धाम रहेको छ । नरैनापुरलाई बुद्धकालिन ऐतिहासिक धार्मिक क्षेत्र मानिन्छ । प्रत्येक वर्ष शिवरात्रीमा यहाँ मेला लाग्ने गरेको छ ।

    लुम्बिनी केबलकार र शिद्धार्थ केबलकार
    बुटवलमा सञ्चालित २ केबलकार पर्यटकको आकर्षणको माध्यम बनेका छन् । दुई वर्ष अघि बुटवलमा लुम्बिनी केबलकार सञ्चालनमा आएको हो । यसको बटम स्टेसन बुटवल ३ को बमघाटमा छ । त्यस्तै पाल्पाको बसन्तपुरमा टप स्टेसन रहेको छ । बसन्तपुरमा कामाख्य मन्दिर रहेको छ ।
    यसै वर्षबाट बुटवलबाट नुवाकोट जाने सिद्धार्थ केबलकार पनि सञ्चालनमा आएको छ । बुटवल १ को देउराली डाँडामा केबलबारको बटम स्टेसन छ । टप स्टेसन रहेको नुवाकोटमा भैरव मन्दिर, नुवाकोट गढी, तोपहान क्षेत्र लगायतका ठाउँ छन् । बसन्तपुर र नुवाकोटबाट बुटवल शहरको मनोरम दृष्य नियाल्न सकिन्छ ।

    केबलकार यात्रा गरेर जान सकिने यी हिल स्टेसन बुटवलमा आएका पर्यटक भुलाउने माध्यम बनेको छ । मुलुकका विभिन्न ठाउँबाट बुटवल आउनेहरु प्राय दुई मध्ये एक केबलकार पुग्ने गरेका छन् । केबलकारमा भारतीय पर्यटकहरुको पनि चहलपहल हुने गरेको छ । यस्तै बुटवलमा स्थानिय स्तरमा थुप्रै पार्क तथा मठमन्दिर निर्माण भएका छन् । ति पार्क तथा मठ मन्दिरहरुको पनि आ–आफ्नै महत्व रहेको छ ।