२०८२ फाल्गुन २३ गते, शनिबार १२:३८
  • पर्यटकीय विश्रामस्थल र प्रवेशद्वारको रुपमा विकास हुँदै बुटवल

    बुटवल-बुटवलबाट बुद्ध जन्मस्थल लुम्बिनी ४० किलोमिटर दुरीमा पर्दछ । लुम्बिनी घुम्न आएका मध्ये केहीलाई आकर्षित गर्न सकेमा बुटवलमा थप पर्यटकीय चहलपहल बढाउन सकिन्छ । यस्तै बुटवललाई लुम्बिनीको प्रवेशद्वारको रुपमा विकास गर्न सकिन्छ । पूर्व पश्चिम राजमार्ग हुँदै आएकाहरु बुटवलमा बसी यहाँका गन्तव्य अवलोकन गरी लुम्बिनी घुम्न जान सक्छन् ।

    बुटवलबाट पाल्पाको तानसेन पनि ४० किलोमिटरको दुरीमा पर्दछ । लुम्बिनीको मात्र नभई पाल्पा र पोखराको लागि पनि बुटवललाई पर्यटकीय प्रवेशद्वारको रुपमा विकास गर्न सकिन्छ । बुटवलमा रहेका पर्यटन व्यवसायीहरुले लुम्बिनी, पाल्पा, पोखरा र प्रदेशका अन्य पर्यटकीय स्थलको प्याकेज बनाएर भ्रमणको व्यवथापन गर्न सक्छन् ।

    उदाहरणको लागि बुटवलबाट एक रात दुई दिने प्याकेज बनाउँदा पहिलो दिन बुटवलका ठाउँहरु घुम्ने यहाँ रात विताएर दोस्रो दिन लुम्बिनी जाने गरि प्याकेज बन्न सक्छ । सुरुमा लुम्बिनी आएका पर्यटकको लागि पनि बुटवल आकर्षित गर्ने गरि प्याकज बन्न सक्छ । जस अनुसार पहिलो दिन लुम्बिनी घुमेर बेलुका बुटवल आउने, दोस्रो दिन बुटवलका पर्यटकीय स्थल घुमाउन सकिन्छ ।

    दुई रात तिन दिने प्याकेज अन्तर्गत पहिलो दिन बुटवलका गन्तव्य घुम्ने, दोस्रो दिन विहान देवदह, रामग्राम, हुँदै लुम्बिनी जाने, तेस्रो दिन कपिलबस्तुका ठाउँ घुम्ने गरी प्याकेज बन्न सक्छ । यस्तै पहिलो दिन लुम्बिनी घुम्ने बेलुका बुटवल आउने, दोस्रा दिन बुटवलका गन्तव्य घुम्ने, तेस्रो दिन पाल्पा जाने गरि अर्को प्याकेज बन्न सक्छ ।

    तीन रात चारदिने प्याकेज अन्तर्गत पहिलो दिन लुम्बिनी घुमेर बुटवल आउने, दोस्रो दिन बुटवलका गन्तव्य घुम्ने, तेस्रो दिन तान्सेन र रानीमहल घुम्ने, चौथो दिन भैरवस्थान, रिडी र रेसुंगा पुग्ने गरी प्याकेजको व्यवस्था हुन सक्छ । यही अवधिको अर्को प्याकेजमा पहिलो दिन बुटवल घुम्ने, दोस्रो दिन लुम्बिनी र कपिलबस्तु, तेस्रो दिन सुपा देउराली र अर्घा घुम्ने, चौथो दिन गुल्मीको रेसुंगा हुँदै रुरु जाने गरिन टुर प्याकेज बनाउन पनि सकिन्छ ।

    बुटवलमा अडिन र घुम्न चाहाने पर्यटकीय स्थलहरु पनि थुप्रै छन् । नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, बटौली क्षेत्र, रामापिथेकस पार्क, लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार, हिलपार्क लगायतका पर्यटकीय गन्तव्यहरु यहाँ रहेका छन् । बुटवलमा साधारणदेखी तारे होटलसम्मको रहेका छन् । बुटवलका यी ठाउँहरु सहित प्रदेशका विभिन्न गन्तव्य घुमाउने गरी प्याकेज बनाउने र यसको प्रचार प्रसार यहाँका व्यवसायीहरुले गर्नुपर्छ ।

    बुटवल उपमहनगरपालिकाका मेयर खेलराज पाण्डेले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा स्थापित गर्ने योजना रहेको भन्दै त्यसको लागि भूमिका खेल्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् । ‘बुटवलबाट, सुपादेउराली, पाणीनी, रिडी, रेसुंगा, भैरवनाथ, मुक्तीनाथ थुप्रै जान खोज्नुहुन्छ । हामीसँग सबै वातावरण बनेको छ । सडक पूर्वाधार पनि बनेको छ । तर टुर प्याकेज कार्यक्रम बनाउन किन सकेनौं ।’ उनले भने ‘बुटवल उपमहानगरपालिका, यातायात व्यवसायी र होटल व्यवसायी मिलेर काम गरौं । बुटवलबाट हामीले ३ दिनको, ५ दिनको ७ दिनको टुर प्याकेज बनाउन सक्छौं ।

    टुर प्याकेज र पर्यटन प्रवद्र्धनको लागि ब्रोसर लगायतका कामको लागि उपमहानगरले सहयोग गर्ने एक कार्यक्रममा पाण्डेयले स्पष्ट पारे । विभिन्न ठाउँको लागि टुर प्याकेज बनाएर अघि बढ्ने हो भने बुटवलमा आर्थिक चालयमान हुने उनको भनाइ छ । तयार गर्छाै। बुटवलमा रात्रीकालिन गर्न बजारका लागि पनि उपमहानगर तयार रहेको भन्दै त्यसको लागि आकर्षक खालका पसल राख्न पाण्डेयले आग्रह गरेका छन् ।

    यस्तै बुटवललाई भारतीय पर्यटकको लागि पनि विश्रामस्थल अर्थात बस्न योग्य वातावरण बनाउन उपमहानगरपालिका अघि बढिरहेको छ । भारतीय पर्यटकहरु बेलहिया नाकाबाट प्रवेश गरि मुक्तीनाथ जान आउने गर्दछन् । मुक्तीनाथसम्म जाने भारतीय पर्यटक आकर्षण अझै बढाउन र चिनको कोरोला नाकाबाट लुम्बिनीसम्म पर्यटक ल्याउन बुटवलले पहल थालिसकेको छ । जस अनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा बाग्लुङ, म्याग्दी, मुस्ताङका विभिन्न स्थानिय तहहरुसँग भेटेर पर्यटक भित्राउन साझा पहल गर्ने गरि छलफल गरेका छन् ।

    छिट्टै पालिकाहरुको सम्मेलन गर्ने निर्णय समेत भएको छ । यसै क्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ । उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा भएको बेला पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय र सहयोग आदानप्रदान गर्ने समझ्दारी भएको थियो । समझदारी अनुसार पर्यटन प्रवद्र्धनमा सहकार्य भएमा ठूलो संख्यामा भारतीय पर्यटक बुटवल हुँदै मुक्तीनाथ लैजान सकिन्छ । त्यस्तै चिनबाट बौद्ध धर्मलम्बीहरुलाई कोरोला नाका हुँदै लुम्बिनीसँग ल्याउन सकिन्छ । भारतीय र चिनिया पर्यटक भित्राउन नेतृत्व लिएको उपमहानगरपालिकाले बुटवलमा त्यसरी आएका पर्यटकलाई बुटवलमा स्वागत गर्ने र कम्तीमा एक रात भुलाउने योजना पनि अघि बढाएको छ ।