२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • सेमलार र मोतिपुर: कृषिको लागि बस्नयोग्य बुटवलको खुल्ला ठाउँ

    ग्रिनसिटी र एग्रो टुरीजमको रुपमा अघि बढाउने उपमहानगरको योजना

    बुटवल वि.सं. २०७१ सालमा बुटवल नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नती भयो । उपमहानगरपालिका बनाउँदा साविक सेमलार र मोतिपुर गाविसलाई समेटिएका थियो । सेमलार गाविस भएको क्षेत्रमा बुटवलका १४, १५ र १६ नम्बर वडा रहेको छ । साविक मोतिपुर तर्फ १७, १८ र १९ नम्बर वडा कायम भएको छ ।

    घना बस्तीबाट केही पर खुल्ला र शान्त तरिकाले बस्नेहरुका लागि सेमलार र मोतिपुर क्षेत्र रोजाइ बन्ने गरेको छ । यी ठाउँमा बसाइसराई भएर आउने दर पनि बढिरहेका छ । यी ६ वटा वडा बुटवलको कृषि भूमि मानिन्छ । बुटवलको मुख्य बजार र आसपास क्षेत्रमा अहिले भवन र संरचनाहरु भरिएका छन् । खुल्ला ठाउँमा बस्न चाहानेहरु यही मोतिपुर र सेमलार क्षेत्र तर्फ आकर्षित हुँदैछन् । पूर्वपश्चिम राजमार्गको तामनगरबाट फर्साटिकर जोड्ने सडक सेमलार हुँदै जाने गर्दछ । यो सडक सेमलारको मुख्य सडक पर्दछ ।

    त्यस्तै बेलबास बेथरी ४ लेनको सडक मोतिपुर क्षेत्रको मुख्य सडक हो । यो सडकले बुटवलको मुख्य बजार र मोतिपुर बस्तीमा ओहोर दोहोर गर्न सहज भएको छ । त्यस बाहेक अन्य विभिन्न सडकले बुटवलको शहरी भेगदेखी सेमलार र मोतिपुरलाई जोडेको छ ।

    कृषि र खुल्ला ठाउँ भएकाले सेमलार क्षेत्रलाई ग्रिनसिटी र एग्रो टुरीजमको रुपमा अघि बढाउने बुटवलको नीति तथा कार्यक्रममा बताइएको छ । १४ देखी १९ वडासम्म कृषि, पशुपालन तथा हरियाली प्रवद्र्धनसँग सम्बन्धि पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरी ग्रिनसीटी र एग्रो टुरिजममा जोड दिइने नीति कार्यक्रममा भनिएको छ ।

    बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल १५ का वडाध्यक्ष शिव रानाले सेमलार क्षेत्रमा कृषिको लागि विशेष जोड दिएको बताए । ‘यो क्षेत्रलाई आर्थिक रुपमा चलायमानको लागि किसानहरुलाई व्यवसायीक बनाउन हामीले काम गरिरहेका छौं ।’ उनले भने ‘पशुपालक किसानहरुलाई उत्पादन गरेको दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिने व्यवस्था गरेका छौं । यस्तै सेमलारमा देशकै ठूलो कृषि मण्डी बनाउन संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं ।’

    त्यसै गरि कृषकलाई विना धितो ऋण कार्यक्रम, लिजमा र सिचाइमा अनुदान जस्ता कार्यक्रम राखिएको बुटवल १५ का वडाध्यक्ष रानाले बताए । ‘कृषकलाई पैसा छैन भने स्थानिय सहकारी मार्फत विनाधितो ऋण दिने व्यवस्था गरेका छौं । जग्गा छैन भने लिजमा अनुदान दिने । सिचाइको लागि खेती योग्य जमिन सिञ्चीत छन् । स्यालो ट्युवेल को लागि न्युनतम शुल्क आउने व्यवस्था छ ।’ उनले भने ‘भूमिगत सिचाइमा विद्युतीय महसुलमा ७५ प्रतिसत अनुदान, कुला पानीको लागि २५ प्रतिसत अनुदान किसानको लागतमा पनि सहजता हुन्छ ।’ किसानको उत्पादनको पनि बजारीकरणको लागि विभिन्न कार्यक्रम गरिरहेको रानाले बताए ।

    साविक मोतिपुर गाविसको क्षेत्रमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । सो क्षेत्र अन्तर्गत पर्ने बुटवल १८ का वडाध्यक्ष गुरुप्रसाद पंगेनीले किसानको लागि सिचाइ र अनुदानका कार्यक्रम अघि सारेको बताए । ‘हामीले सडकसँगै कुलोलाई पहिलो प्राथमिकतामा राखेका छौं। सिचाइलाई अलि व्यवस्थित गर्न सकेमा किसानहरुलाई राहत हुन्छ भन्ने सोंचका साथ अघि बढिरहेका छौं ।’ उनले भने ‘हामीले विउविजनसँगै तरकारी, मकै, दलहन, तेलहन लगायतका बालीका लागि नगरस्तर र वडास्तरबाट अनुदान दिने गरेका छौं ।’

    उपमहानगरको तर्फबाट धान र गहुँको विउमा सहकारी मार्फत अनुदान दिएको छ । वडाबाट पनि २५ २६ किलो विउ बाँडेको वडाध्यक्ष पंगेनीले बताए। त्यस्तै व्यवसायीक तरकारी खेती गर्नेहरुको लागि प्रोत्साहनको लागि सम्मान गर्ने गरिएको छ ।
    बेलबास बेथरी सडकले मोतिपुर क्षेत्रका सहज बनाएको छ । त्यस्तै मोतिपुर औद्योगिक क्षेत्र त्यस क्षेत्रको भविश्यको रुपमा हेरिएको छ । स्थानियसँगको जग्गा विवादको कारण मोतिपुर क्षेत्र अघि बढ्न सकेको छैन । स्थानियसँगको समझ्दारी भएर औद्योगिक क्षेत्र निर्माण भएमा मोतिपुरको आर्थिक चलायमान हुने वडाध्यक्ष पंगेनीले बताए।