२०८२ फाल्गुन २३ गते, शनिबार १२:३८
  • भैरहवामा अन्तर्राष्ट्रिय उडानको लागि बजार अध्ययन गर्दै श्रीलंकन एयरलाइन्स

    भैरहवा-श्रीलंकन एयरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न चासो देखाएको छ। श्रीलंकाको ध्वजावाहक विमान कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि बजार अध्ययन सुरु गरेको हो। यही असार १२ गतेदेखि बजार थालेको एयरलाइन्सले यात्रुहरुको तथ्यांक संकलन पनि गरिरहेको छ।

    जस अनुसार रुपन्देही आएर भैरहवा र बुटवलका व्यवसायीहरुसँग छलफल गरेको श्रीलंकन एयरलाइन्सका नेपाल सेल्स मेनेजर दिपक मैनालीले बताए। ‘हामीले भैरहवा र बुटवलको बजार अध्ययन गरिरहेका छौं। यस अघि उडान भएका प्यासेन्जरको डाटा कलेक्सन गर्दैछौं। चलेर बन्द भएका अरु एयरलाइन्सको पनि हामीले प्रतिक्रिया लिनुपर्छ।’ उनले भने ‘अध्ययनको निष्कर्ष र डाटा संकलन सन्तोषजनक भएमा उडानबारे निर्णय गर्छौं।’ अहिलेसम्म भैरहवा र बुटवलका व्यवसायीहरुसँग छलफल गरेको र अर्को पटक भैरहवा आउँदा विमानस्थलका महाप्रबन्धकसँग पनि कुराकानी गर्ने मैनालीले जानकारी दिए। अध्ययन र तथ्यांक संकलनपछि श्रीलंकन एयरलाइन्सको मुख्यालयमा प्रतिवेदन पठाउने र त्यहाँबाट निर्णय हुने उनको भनाइ छ।

    पर्यटन व्यवसायी तथा तत्कालिन साट्टाका पूर्व अध्यक्ष पूर्वअध्यक्ष सञ्जिवकुमार जोशीले श्रीलंकन एयरलाइन्सका प्रतिनिधिहरुलाई आफूले बजार र सम्भावित यात्रुको अवस्थाबारे जानकारी गराएको बताए। ‘हामीले लुम्बिनी सहित ४ वटा प्रदेशबाट विदेश जाने र आउने सम्भावित अवस्था र यस अघि मुलुक बाहिर आइजाइ गरेका अध्यागमन विभागको तथ्यांकबारे जानकारी गरायौं।’ उनले भने ‘उडान राख्नुहोस् सहकार्य गरेर जाउँ भनेर भनेको छौं। उहाँहरु कन्भीन्स भएको मैले पाएको छु।’ श्रीलंकन एयरलाईन्सले सेप्टेम्बर १ बाट उडान गर्ने गरि तयारी गरिरहेको जोशीले जानकारी दिए। तर नागरिक उड्यन प्राधिकरणसँग भने उसले अनुमती लिन बाँकी छ।

    श्रीलंका बुद्ध धर्मलम्बीको बाहुल्यता भएको मुलुक हो। त्यहाँबाट भैरहवा सिधा उडान भएमा लुम्बिनी आउने बुद्ध धर्मलम्बीहरुलाई सहज हुने छ। त्यो बाहेक अध्ययन र कामदारको रुपमा विभिन्न देशमा भैरहवाबाट श्रीलंका ट्रान्जिट भएर आवत जावत गर्न सकिने श्रीलंकन एयरलाइन्सका सेल्स मेनेजर दिपक मैनालीको भनाइ छ। ‘हाम्रो टार्गेट तत्कालको लागि विद्यार्थी र कामदारहरुको लागि हो।’ उनले भने ‘उडान भयो भने भैरहवाबाट श्रीलंका हुँदै कतार, साउदी अरब, दुबई लगायतका देशमा जान सकिने छ। त्यस्तै श्रीलंका हुँदै अस्ट्रलिया, जापान, कोरीया हुँदै युरोपका देशहरुमा जान र आउन सकिने छ।’

    पर्यटन व्यवसायी सञ्जिव जोशीले श्रीलंका सहित अरु बुद्धिष्ट देशबाट समेत पर्यटक आवत जावत बढ्ने बताए। लुम्बिनी गौतम बुद्धको जन्मस्थल, श्रीलंका आँफैमा बुद्धिष्ट देश हो भैरहवा सिधा उडान भएमा बौद्ध धर्मलम्बी देशबाट श्रीलंका हुँदै पर्यटक आउन सक्छन् भनेर मैले उहाँहरुलाई भनेको थिए। उनले भने श्रीलंकाको पनि युरोप, अमेरिका लगायत देशमा उडान हुन्छ। नेपालबाट ती देशमा जाने यात्रु पनि एयरलाइन्सले पाउँछ।