नेपाल भित्रैबाट ४ लाख ३२ हजार आए

लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनामा ५८ हजार ८७ जना विदेशी पर्यटक आएका छन्। यो छिमेकी मुलुक भारत बाहेकको तथ्यांक हो। अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष ६ हजारले तेस्रो मुलुकका विदेशी पर्यटक बढेका हुन्। सन २०२४ को जुन महिनासम्म ५२ हजार १५४ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।
कोभिड अघिको तुलनामा भने यो तथ्यांक निकै कम हो। कोभिड अघि सन २०१९ को जुन सम्म ८३ हजार १५५ जना विदेशी पर्यटक लुम्बिनी आएका थिए। ६ वर्ष अघिको तुलनामा अहिले २५ हजार कम विदेशी आएका हुन्। सन् २०२५ को जनवरीदेखी जुनसम्म सबैभन्दा बढि श्रीलंकाबाट १२ हजार ८८७ जना पर्यटक लुम्बिनी आएका छन्। त्यस्तै थाइल्याण्डबाट आएका १२ हजार १२१ जनाले बुद्ध जन्मस्थलको भ्रमण गरेका छन्।
म्यानमारबाट ८ हजार ३९२ जना, चिनबाट ५ हजार ७८७ जना, भियतनामबाट ४ हजार ११३ र दक्षिण कोरियाबाट २ हजार ५९४ आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ । ताइवानबाट १ हजार ४२२ जना, भुटानबाट १ हजार २०३, जर्मनीबाट १ हजार १५२ लुम्बिनी आएका छन्।
पछिल्लो ६ महिनामा १ लाख ५६ हजार ८०० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष साढे ७ हजारले भारतीय पर्यटक बढेका हुन्। सन २०२४ को जुनसम्म १ लाख ४९ हजार ३६३ भारतीय लुम्बिनी आएका थिए। कोभिड अघिको तुलनामा भारतीय पर्यटक भने अहिले ह्वात्तै बढेका छन्। सन् २०१९ को जुन महिनासम्म १ लाख २ हजार ४५४ जना भारतीय पर्यटक लुम्बिनी आएका थिए। ३ वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। उक्त भ्रमणपछि दक्षिण छिमेकी मुलुक भारतबाट लुम्बिनी आउने क्रम बढेको हो।
यो वर्ष जुन महिनासम्म नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या ४ लाख ३२ हजार १०७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०२५ को ६ महिनामा आन्तरिक पर्यटक करिब ९१ हजारले बढेको छ । २०२४ मा जुनसम्म ३ लाख ४० हजार ६७९ जना नेपालीले बुद्ध जन्मस्थलको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
तर कोभिड अघिको तुलनामा आन्तरिक पर्यटकको संख्या निकै कम हो। सन २०१९ को जुन महिनासम्म ७ लाख ३३ हजार १४० जना नेपाल भित्रैबाट लुम्बिनी घुम्न आएका थिए। ६ वर्ष भन्दा अहिले ३ ३ लाख कम नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। गत ६ महिना मध्ये सबै भन्दा बढि मे महिनामा १ लाख २६ हजार ४० आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। गन जुन महिनामा १९ हजार ६८७ जना मात्र नेपाल भित्रबाट घुम्न आएका हुन्।
कोभिड पछि लुम्बिनीमा भारतीय पर्यटक आगमनमा सुधार भएपछि आन्तरिक र तेस्रो मुलुकको पर्यटक आगमन अझै लयमा फर्किन अझै सकेको छैन।

