
लुम्बिनी- लुम्बिनी सांस्कृतिक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बुद्धजन्मस्थलको पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी यही नगरपालिका भित्र पर्दछ। लुम्बिनीको प्रवद्र्धनको लागि नगरपालिकाले अन्य बुद्धस्थलका पालिकासँग सहकार्यदेखी अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उल्लेख गरेको छ।
यस्तै पर्यटन सूचना केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी बनाइने, पर्यटकको बसाइ लम्बाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद लुम्बिनी प्रदेश र लुम्बिनी क्षेत्र वरिपरिका पालिका र बुद्धस्थलका पालिकाहरु, अन्तर्राष्ट्रिय सहकार्य पालिकाहरु तथा संघ संस्थासँग समन्वय, सहकार्य अनुभव अदान प्रदान गरिने नगर सभामा प्रस्त गरिएको नीति तथा कार्यक्रममा बताइएको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका नगरपालिका सरकारी एवं गैर सरकारी संघ संस्था बीच सह–सम्बन्ध/भगिनी सम्बन्ध कायम गरेको र स्थापित सम्बन्धलाई थप संस्थागत एवं मजबुद गरिने पनि नीति तथा कार्यक्रममा रहेको छ।
नीति तथा कार्यक्रममा ३२ वटा बुँदामा लुम्बिनीको पर्यटन र प्रवद्र्धनका कुरा समेटिएका छन्। जस अनुसार पर्यटन तर्फ १९ र समन्वय सहकार्य र सम्बन्ध विस्तार शिर्षकमा १३ वटा बुँदा रहेका छन्।
पर्यटनतर्फः
- लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न फुड फेस्टिवल बुद्धजयन्ती लगायतका पर्यटन प्रवर्द्धन सम्बन्धी अन्य कार्यक्रममा अन्य संघ संस्थासँग र लुम्बिनी विकास कोष र सहकार्य पालिकासँग सहकार्य गरिनेछ ।
- निजी क्षेत्र र पर्यटनका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु समेतको सहभागितामा नगरभित्र पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्न मौलिक, संस्कृतिको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने गरी पर्यटन पुर्वाधारको विकास गरिनेछ ।
- लुम्बिनीः शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा निरन्तर प्रचारप्रसार गरिनेछ।नगर कार्यपालिका कार्यालय अन्तर्गत स्थापित पर्यटन सुचना केन्द्रलाई सरोकारवालाहरुको समन्वय र सहकार्यमा थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
- लुम्बिनी क्षेत्रको पर्यटन विकास एवं बुद्ध जन्मस्थलको प्रचारप्रसार र बुद्धको जीवनीसँग सम्बधित विषयमा लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र अन्य संघ संस्थासँग समेत समन्वय र सहकार्य गरी अध्ययन अनुसन्धान गरिनेछ र पर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- वृहत बुद्ध सर्किट, लुम्बिनीको माटो पानी प्रयोग गरी कोसेली उत्पादन, रैथाने खानाको गुणस्तर वृद्धि र बजार प्रवर्द्धन, लुम्बिनी भ्रमणमा आउने तीर्थ यात्रीहरु र पर्यटकको बसाइ अवधि लम्ब्याउने लगायतका कार्यक्रमहरुमा नगरपालिकाले समन्वय र सहकार्य गर्नेछ ।
- लुम्बिनी साँस्कृतिक नगरकार्यपालिकामा मुख्य केन्द्र रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय सँग नगरवासीहरुको हित, कल्याण, शिक्षा तथा ज्ञानका क्षेत्रमा बृद्धि हुने गरी, साथसाथै पर्यटन र संस्कृतिका क्षेत्रमा मिलेर काम गर्न आवश्यक सहयोग सहकार्य गरिनेछ ।
- बौद्ध साँस्कृतिक संवेदनशीलताको विकास, बौद्ध आध्यात्मिक वातावरण निर्माणका माध्यमबाट लुम्बिनीको पर्यटन विकास गर्न सार्वजनिक निजी साझेदारी मार्फत परियोजना सञ्चालन गरिनेछ जस्तै: नगरक्षेत्र भित्र रहेका टोल विकास संस्था समेतको समन्वयमा होम स्टे ( Home Stay) सेवा सञ्चालन गर्न मापदण्ड बनाई व्यवसाय दर्तामा पूर्ण छुट सहित प्रोत्साहनको व्यवस्था गरिनेछ ।
- लुम्बिनीमा अधिकतम रोजगारी र स्वरोजगारीको सृजनामा बल पुग्ने, पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने विविध परियोजना र कार्यक्रम सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
- ईकोगार्डेन निर्माण, वेटल्याड संरक्षण, पोखरी संरक्षण र सौन्दर्यीकरण गरी विभिन्न प्रजातिका चराहरुको आगमन र बसाईमा जोड दिईनेछ ।
- लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र पर्यटकीय विकेन्द्रीकरण (Tourism Decentralization) गर्नको लागि लुम्बिनी विकास कोष र अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थल तथा सेवा सम्बन्धी जानकारी गराउन स्थापित पर्यटन सूचना केन्द्र (Tourism Information Center) मा आवश्यक जनशक्ति र स्रोत साधनको प्रबन्ध गरी सूचना केन्द्रलाई सञ्चालन गरिनेछ।
- लुम्बिनी क्षेत्रको हस्तकलाको प्रवर्द्धन र विकास र बजारीकरणका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
- लुम्बिनीको इतिहास र पहिचानसँग जोडिएको रुमिन्देइ माई मेलालाई थप व्यवस्थित र मर्यादित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन गरिनेछ ।
- लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, होटेल संघ, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा लुम्बिनी सडक खाना महोत्सव आयोजनामा समन्वय/सहकार्य गरिनेछ ।
- पर्यटन विकासका लागि लुम्बिनी देखि भारतको बोधगया, सारनाथ, श्रावस्ती, कुशीनगर, अयोध्या City सँग सम्पर्क, समन्वय र सम्बन्ध विस्तारमा पहल गरिनेछ।
- पर्यटन प्रवर्द्धन र विकासका लागि लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद लुम्बिनी प्रदेश र लुम्बिनी क्षेत्र वरिपरिका पालिका र सहकार्य पालिकाहरु, अन्तर्राष्ट्रिय सहकार्य पालिकाहरु, संघ संस्थासँग समन्वय, सहकार्य अनुभव अदान प्रदान गरिनेछ।
- नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा अर्न्तराष्ट्रिय बौद्ध शिखर सम्मेलन आयोजना गरी लगानी भित्र्याउन पहल गरिनेछ ।
- लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका नदीकिनारा, ताल तलैया, पोखरीको सुन्दरीकरण एवं आधुनिक पार्कहरू निर्माण गर्न पहल गरिनेछ।
- लुम्बिनी क्षेत्रको पर्यटकीय स्थल एवं साँस्कृतिक सम्पदाको बारेमा जानकारी गराउन एवं पर्यटकहरुलाई सहजीकरण गर्न स्थानीय Tourist Guide तयार गर्न तालिमको व्यवस्था मिलाइनेछ।
समन्वय, सहकार्य र सम्बन्ध विस्तारतर्फः
लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागि बुद्ध जन्मस्थल एवम् बुद्धसँग सम्बन्धित क्षेत्र विशेष गरी बुद्ध परिपथ नगरपालिकाका धार्मिक एवम् पर्यटकीय स्थललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, समन्वय, सहकार्य, सहयोग र अनुभव आदानप्रदान गर्ने एवम् विश्व शान्तिका लागि बुद्धको शान्ति सन्देश र मार्गदर्शन विश्वभर फैलाउने अभियान अन्तर्गत ।
- भगवान गौतम बुद्ध जन्मस्थल यस लुम्बिनी साँस्कृतिक नगरपालिकाले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका नगरपालिका/City सरकारी एवं गैर सरकारी संघ संस्था बीच सह-सम्बन्ध/भगिनी सम्बन्ध कायम गरेको छ स्थापित सम्बन्धलाई थप संस्थागत एवं मजबुद गरिनेछ ।
- सम्बन्ध विस्तार, समन्वय र सहकार्यलाई निरन्तरता दिईने छ।
- लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन र विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको आर्थिक तथा प्राविधिक सहयोग र अनुभवको आदानप्रदान गर्ने, नगरपालिकाको नीति अनुसार राष्ट्रियस्तर र अन्तराष्ट्रिय स्तरमा City/संघ संस्थासँग आर्थिक प्राविधिक सहयोग र विकास अनुभवको आदानप्रदान गरिनेछ ।
- लुम्बिनीमा लगानी गर्न, पालिकासँग सहकार्य गर्न एवं पालिकामा सँग पर्यटन पर्वद्धन र विकास, स्वास्थ्य, शिक्षा एंव अन्य क्षेत्रमा सहकार्य गर्न ईच्छुक राष्ट्रिय एवं अर्न्तराष्ट्रिय नगरपालिका/City, संघ-संस्था लगायतलाई नेपाल सरकारबाट सबै कानूनी प्रक्रिया पुर्याई दर्ता भई आएको अवस्थामा लगानीका लागि सहकार्य गर्ने तथा सहयोगका लागि पहल गरिनेछ।
- लुम्बिनी र नेपालको पर्यटनको विकासका लागि विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जीवनसँग सम्बन्धित लुम्बिनी, देवदह, रामग्राम, कपिलवस्तु, तिलोत्तमा र सहकार्य पालिकाहरुसँग समन्वय र सहकार्य गरी पर्यटन प्रवर्द्धन र विकासका कार्यक्रमको योजना बनाई कार्यान्वयन गरिनेछ।
- मायादेवी मन्दिरको दर्शन, लुम्बिनी भ्रमणमा आउने राष्ट्रियस्तरका संघ, प्रदेश, पालिका र विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, संयुक्त राष्ट्र संघका महासचिव लगायत विशिष्ट व्यक्तिहरु, बौद्ध विद्वान, गुरुहरु र साँस्कृतिक दृष्टिबाट विशिष्ट व्यक्तिहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरवासीहरु एवं लुम्बिनी नगरको तर्फबाट स्वागत र सम्मान गर्ने परम्परालाई निरन्तरता दिईनेछ।यसका निम्ती लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेश सरकार र आवश्यक पर्दा संघ सरकारसँग समन्वय र सहकार्य गरिनेछ ।
- लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहयोग र अनुभवको आदानप्रदान गर्न लुम्बिनीको प्रचारप्रसार महत्वपूर्ण भएको हुँदा यस विषयलाई ध्यानमा राखी राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने।
- लुम्बिनी र नेपालको कला, धार्मिक, सँस्कृतिको प्रचारप्रसार, संरक्षण एवम् पर्यटन प्रवर्द्धन र विकासका लागी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय (NRNA ICC), गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC, USA), बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) हरु र विश्वभर रहेका नेपालीहरुको बुद्ध जन्मस्थल लुम्बिनी एवं बुद्ध परिपथको भ्रमण गर्ने अभियानलाई निरन्तरता दिईने छ र यस अभियानमा NRNA सँग सहकार्य गरिनेछ ।
- बुद्ध परिपथका नगरपालिकाको पहल र प्रयासमा USA, Texas State USA Texas State सदनबाट March 13 लाई Lumbini Advocacy Day तथा May 15 लाई Buddha Day (बुद्ध जयन्ती एवम् बुद्ध दिवसको रूपमा) मनाउने भनि पारित भएकोमा टेक्सास स्थित City, सहकार्य संघ संस्था र Texas State सँग सहकार्य गरेर बुद्ध परिपथ एवम् लुम्बिनी नेपाल र Texas USA मा विभिन्न कार्यक्रमको संयुक्त रुपमा आयोजना गरिनेछ।
- लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका, तिलोत्तमा नगरपालिका र Greater Bindigo City and Great Stupa अष्ट्रेलियाबीच संस्थागत सम्बन्ध विस्तार गरिनेछ र लुम्बिनी, बुद्ध परिपथ एवम् लुम्बिनी नेपाल र Greater Bindigo City and Great Stupa अष्ट्रेलियासँग, समन्वय, सहकार्य र अनुभव आदानप्रदानको लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरिनेछ।
- बुद्धजन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका र बुद्ध परिपथमा पर्ने बुद्धसँग सम्बन्धित पालिकाहरुले लुम्बिनी स्थित थाई राजकीय बुद्ध बिहार र थाईलैंडस्थित धम्मकाय बिहार (मन्दिर) सँग संस्थागत सम्बन्ध स्थापना गरी पर्यटन पर्वद्धन र विकासमा सहकार्य गरिनेछ।
- बुद्ध परिपथमा पर्ने बुद्धसँग सम्बन्धित पालिकाहरुको पर्यटन पर्वद्धन र सम्बन्ध विस्तार तथा प्रचार प्रसारका लागि मुख्य-मुख्य पर्यटकीय गन्तव्य स्थलहरुमा कर्मचारी तथा पदाधिकारीहरुको भ्रमण तथा समन्वय बैठक कार्यक्रमहरुको आयोजना गरिनेछ ।
- लुम्बिनी एवं बुद्ध परिपथको धर्म, संस्कार, संस्कृति र पर्यटकीय स्थलको संरक्षण, प्रचार प्रसार, पर्यटन पर्वद्धन र विकास गर्ने उद्धेश्यका साथ राष्ट्रिय अन्तराष्ट्रिय स्तरका (विश्वभरका) सहकार्य नगरपालिका, City, संघ संस्था, निकाय तथा अन्य नेपाली संघ सस्थाले विश्वको जुनसुकै स्थानमा निर्माण गर्ने बुद्ध पार्क, बुद्ध विहार/मन्दिर एवं पर्यटकीय योजना एवं परियोजनामा समन्वय, सहकार्य र प्राविधिक सहायोग आदान प्रदान गरिनेछ ।

