
देवदह– रुपन्देहीको देवदहमा धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले बाल गोपाल सिस महल निर्माण गरिएको छ। देवदह नगरपालिका–७ सितलनगरमा रहेको दुर्गा पञ्चायतन मन्दिरमा सिस महल निर्माण भएको हो। मन्दिर संरक्षण समितिको मणिद्वीप धाम गुरुयोजना अन्तरगत गत भदौमा सिस महलको शिलान्यास भएको थियो।
गएको भदौमा संघीय सांसद छवीलाल विश्वकर्माबाट शिलन्यास भएको सिस महलको यहि साउन ३१ गते भाद्र कृष्णाजन्मष्ठमिका अवसरमा उद्घाटन गर्ने गरि तयारी थालिएको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए। स्थानीय तथा धार्मिक श्रद्धालुभक्तजनहरुको सहयोगमा जुटाइएको आर्थिक रकमबाट सिस महल निर्माणकार्य थालिएको उल्लेख गर्दै सोही अनुसार झण्डै ७० लाखको लागतमा निर्माण पुरा भएको उनले बताए। बस्यालले स्थानीयसँगै वाह्य धार्मिक पर्यटकहरुलाई आकर्षण गर्न र पर्यटकको संख्यामा वृद्धि गर्नकालागि सिस महल निर्माण गरिएको उल्लेख गरे।
केही श्रद्धालुभक्तजनहरुबाट दानपेटी तथा सहयोग संकलन गरिएको केही २०७५ मा सम्पन्न भएको महायज्ञमा संकलन भएको रकम जुटाएर बाल गोपाल सिस महल निर्माण गरिएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए। उनले सिस महलसँगै मन्दिर परिषरमा बुद्धमुर्ति, अर्जुन रथयात्रा, धार्मिक रमणीय पार्क, वाटर फाउण्डेशन र आकर्षक प्रदेशद्वार निर्माणलगायतका संरचनाहरु निर्माण गरिएको उल्लेख गरे।

इनडोर बिस वाई बिस स्क्वायर वर्गफिटमा निर्माण गरिएको सिस महलभित्र कृष्ण विरात स्वरुप, मखन चोर बालकृष्ण लिला, गापिनी कृष्णलिला, नागमर्दन लिलालगायतका चित्रवर्णीत रहेको मन्दिर संरक्षण समितिका सचिव अजय भण्डारीको भनाइ छ । सिस महलको निर्माण सम्पन्न भइ सकेको र यहि महिनाको अन्तिमका उद्घाटनको तयारीमा रहेकाले आकर्षक मनमोहक रुपमा निर्माण सम्पन्न भएको सिस महलले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्ने उनले विश्वास ब्यक्त गरे।
सिस महलभित्र एक पटकमा २० जनाले अवलोकन गर्न सक्ने र यसले कृष्णका विभिन्न लिलाबारे साना÷ठुला सबैलाई जानकारी दिन मद्धत गर्ने मन्दिर संरक्षण समितिका उपाध्यक्ष यज्ञमुर्ति पाण्डेयले जानकारी दिए। उनले ठुलो र पुरानो इतिहास बोकेको दुर्गा पञ्चायतन मन्दिर परिषरभित्र निर्माण थालिएको देवदह मणिद्वीप धाम गुरुयोजना अन्तरगत बाल गोपाल सिस महल निर्माण गरिएकाले यसको प्रचार प्रसार हुन पनि उत्तीकै आवश्यक रहेको धारणा राखे।

