२०८२ फाल्गुन २३ गते, शनिबार १२:३८
  • जुलाईमा ७० हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं -सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ जना पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८।७ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ। यो तथ्यांकबाट कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको देखिएको छ ।

    सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ। जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए।

    जुलाईमा आएका पर्यटक मध्येसबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना रहेका छन्। त्यस्तै बंगलादेशबाट ४ हजार ४१३ जना र बेलायतबाट ३ हजार ५४७ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले जानकारी दिए।