
सैनामैना-रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको पर्रोहा परमेश्वर बोलबमधाममा साउन लागेपछि भक्तजनहरुको चहलपहल छ। विशेष गरि सोमबार उहाँ जलार्पण गर्नेहरुको भिड लाग्ने गर्दछ। साउनको तेस्रो सोमबार विहान ५ बजेदेखी दर्शनार्थीहरुको चहलपहल थियो।
साउन लागेपछि हालसम्म सवा लाख जतिले पर्रोहा बोलबमधाममा जर्लापण गरेको धामका अध्यक्ष चित्रबहादुर कार्कीले जानकारी दिए। ‘विहानदेखी अभिछिन्न रुपमा जर्लापण भइरहेको छ । आजसम्म सवालाखले दर्शन गरे ।’ उनले भने ‘साउन मसान्तसम्म १ लाख ६० हजार भक्तजन आउने हामीले आशा गरेका छौं ।’ लाइन र भिड व्यवस्थापन गर्न धामका सदस्यसँगै स्वयंसेवक खटाइएको कार्कीले जानकारी दिए।
पर्रोहा परमेश्वर शिव ज्योर्तिलिंग बोलबमधामलाई पश्चिमको पशुपति नाथ पनि भन्ने गरिन्छ। बोलबमधाममा देशका प्रमुख तिर्थस्थल र घाटबाट जल लिएर आइ अर्पण गर्ने गरिन्छ। धाम आँफैले पनि बोलबम यात्रा तथा जलार्पण कार्यक्रम गरेको छ । यसअघि कपिलबस्तुको लक्ष्मणघाट, पश्चिम नवलपरासीको त्रिवेणी धामबाट पनि पर्रोहासम्म बोलबम यात्रा भइसकेको छ। साउन २१ गते गुल्मी पाल्पा र स्याङजाको संगमस्थल रिडीबाट पर्रोहासम्म बोलबम यात्रा तथा जलार्पण गर्ने धामले जनाएको छ। यी बाहेक अन्य ठाउँबाट स्वस्फूर्त रुपमा भक्तजनहरु जलार्पणको लागि आउने गरेका छन् । भारतबाट पनि पर्रोहा बोलबम धाममा भक्तजनहरु आउने क्रम चलिरहेको छ । साउनको मध्यबाट भारतबाट आउने क्रम अझ बढ्ने र मसान्त सम्म झण्डै ४ सय बसमा भक्तजन आउने आशा गरिएको धामका अध्यक्ष कार्कीले बताए।
पर्रोहा परमेश्वर बोलबम धामको विकासको लागि १४ करोडको गुरुयोजना तयार भइ काम भइरहेको छ । गुरुयोजना अन्तर्गत ६० प्रतिसत काम सकिएको धामका अध्यक्ष कार्कीले बताए। आर्थिक रुपमा ७ करोड खर्च भएको र बाँकी ७ करोडको काम बाँकी छ। गुरुयोजना अन्तर्गत पुरानो मन्दिरको संचनालाई बदलेर नयाँ प्यागोडा सैलीको मन्दिर बनाइएको छ । नयाँ मन्दिर बनेपछि ठाउँ फराकिलो हुँदा दर्शनार्थीलाई जलार्पण गर्न पनि सहज भएको छ ।

