राजनीतिक घट्नाक्रमको असर पर्यटन क्षेत्रमा

लुम्बिनी– गर्मी र वर्षायामको कारण जेठदेखी भदौसम्म लुम्बिनीको पर्यटनको लागि अफ सिजन मानिन्छ। असोज लागेपछि चहलपहल सुरु हुन्छ। दसैंको घटस्थापना सुरु भएपछि भिड हुने गर्दथ्यो। तर यो वर्ष दसैं नजिकिँदा पनि लुम्बिनीमा चहलपहल छैन। पछिल्लो आन्दोलन र राजनीतिक घट्नाक्रमका कारण बुकिङ भएका कोठाहरु पनि रद्द भएका छन्।
सेप्टेम्बर महिनामा लुम्बिनीको होटलका ९० प्रतिसत बुकिङ रद्द भएको लुम्बिनी होटल संघले जनाएको छ। दशैं नजिकिँदै गर्दा चहलपहल बढ्नुपर्नेमा अहिले सुनसान भएको लुम्बिनी होटल संघका महासचिव पूरुषोत्तम अर्यालले बताए। ‘विदेशी पर्यटकहरुले धमाधम बुकिङ रद्द गरेका छन्। व्यवसायी साथीहरुसँग बुझ्दा सेप्टेम्बर महिनाको मात्र ९० प्रतिसत बुकिङ स्थगित भएको छ ।’ उनले भने ‘आन्दोलनले धेरै असर पारेको छ। अलिकती चहलपहल हुन थालेको थियो। फेरी सुनसान भएको छ।’
कोभिड संक्रमणले लुम्बिनीको पर्यटनलाई नराम्ररी थला पारेको थियो। २ वर्ष जति लुम्बिनीमा पर्यटन आगमन नगन्य थियो। कोभिडको प्रभाव हटेपछि अरु क्षेत्र चलायमान भए। तर लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा आउन सकेको छैन। गत वर्ष आर्थिक मन्दीका कारण पनि लुम्बिनीको पर्यटनमा असर पर्यो। बुटवल नारायणगढ सडक विस्तारमा भएको ढिलाइ र राजमार्गको अस्तव्यस्तताले पनि लुम्बिनीमा पर्यटक आउन सहज थिएन। कोभिड अघि सन् २०१९ मा आन्तरिक र विदेशी गरि १५ लाख ५८ हजार ३२६ पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा आएका थिए। गत वर्ष सन् २०२४ मा कुल ११ लाख ७२ हजार २८२ पर्यटकले लुम्बिनीको भ्रमण गरे।
अहिले बुटवल नारायणगढ सडकको दाउन्ने बाहेकको खण्ड सहज भएको छ। त्यसैले यो वर्ष लुम्बिनीको पर्यटन कोभिड अघिकै लयमा पुग्छ भन्ने आशा गरिएको थियो। तर पछिल्लो राजनीतिक घट्नाक्रमका कारण चिन्ता छाएको लुम्बिनी होटल संघका महासचिव अर्याल बताउँछन्। ‘कोभिड पछि अरु वर्षको तुलनामा यो वर्ष बुकिङ निकै राम्रो देखिएको थियो। यस पटक लुम्बिनीको पर्यटन तग्रिन्छ भन्ने आशा थियो।’ उनले भने ‘गत वर्ष औसत ४० प्रतिसत अक्कुपेन्सी थियो। यो वर्ष ६० प्रतिसत भन्दा बढि होला जस्तो लागेको थियो। तर आन्दोलनले निराश हुनुपर्यो।’ अवस्था शान्त भएमा नेपाल जान हुन्छ भन्ने सन्देश बाहिर गयो भने लुम्बिनीमा चहलपहल केही फर्काउन सक्ने अर्यालको भनाइ छ।
भैरहवा क्षेत्रका होटलहरुको पनि बुकिङ रद्द भएको छ। बेलहिया स्थलमार्ग हुँदै सबै भन्दा बढि पर्यटक भित्रने सिमानाका हो। देशका विभिन्न भागमा जान आएका पर्यटकहरु भैरहवामा बास बस्ने गर्दछन्। तर अहिले भैरहवाका होटलहरु सुनसान भएको सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सिपी श्रेष्ठले बताए। ‘जहिलेदेखी आन्दोलन भयो त्यसबेलाबाट सबै जसो बुकिङ रद्द भयो। यहाँबाट काठमाडौं, पाल्पा, पोखरा लगायतका ठाउँमा पर्यटक गएकै छैनन्।’ उनले भने ‘क्यासीनोले गर्दा भैरहवामा फाट्ट फुट्ट केही कोठा गएका छन्। घुम्न आउने पर्यटक छैनन्।’
पर्यटकको चहलपहल बढाउन अब नेपालको अवस्था सुधार भएको सन्देश दिनुपर्ने सानका अध्यक्ष श्रेष्ठले बताउँछन्। धेरै जसो पर्यटक भारतबाट आउने भएकाले त्यहाँ गएर प्रवद्र्धनात्मक कार्यक्रम गरेर सन्देश दिनुपर्ने उनको भनाइ छ। ‘हामीले व्यक्तीगत र व्यवसायीक रुपमा यसको लागी त पहल गरेका छौं। तर सरकारले पनि सहजीकरण गर्नुपर्छ।’ श्रेष्ठले भने।

