५ वर्षे कार्यकाल सकेर विदा भए सानुराजा

लुम्बिनी-लुम्बिनी विकास कोषमा सदस्य सचिव पद रिक्त भएको छ। सदस्य सचिव सानुराजा शाक्यको ५ वर्षे कार्यकाल सकिएसँगै बुधबारबाट सो पद रिक्त भएको हो। शाक्य २०७७ साल असोज २२ गते लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त भएका थिए। मंगलबार उनको कार्यकालको अन्तिम दिन थियो।
लुम्बिनीमा कर्मचारी आन्दोलन भएको बेलामा केही हप्ता अघि शाक्यले पदबाट राजिनामा दिएका थिए। तर राजिनामा स्वीकृत भएको थिएन। कोषको सदस्य सचिवको नयाँ नियुक्ती भने अनिश्चित छ। जेनजीको आन्दोलनपछि पूर्वप्रधानन्याधिस सुशिला कार्की प्रधानमन्त्री बनेर ८ सदस्यीय मन्त्री परिषद गठन भएको छ। तर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको नियुक्ती भएको छैन।
नयाँ मन्त्री नियुक्ती नहुँदासम्म सदस्य सचिव नियुक्तीको लागि केही समय लाग्न सक्ने मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। ‘मन्त्रालय अन्तर्गत अरु निकायमा पनि नियुक्ती गर्नुपर्ने पदहरु रिक्त छ। मन्त्रालयको तर्फबाट नियुक्तीको तयारी भइरहेको छ। तर कहिले हुन्छ भन्न सकिन्न।’ उनले भने ‘अहिले मन्त्रालयको जिम्मेवारी सम्माननिय प्रधानमन्त्रीज्यू आँफैले लिनुभएको छ। सायद नयाँ पर्यटनमन्त्री आएपछि टुंगो लाग्ला।’
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकबाट कोषको सदस्य सचिव नियुक्त हुने प्रावधान छ।

